नेपाल र स्कटल्यान्ड भिड्दै

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज बलियो प्रतिद्वन्द्वी स्कटल्यान्डको सामना गर्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेदेखि यो खेल सुरु हुनेछ। नेपाली टोलीको नेतृत्व इन्दु बर्माले गरेकी छन् भने स्कटल्यान्डको कप्तानी क्याथरिन ब्राइसले सम्हालेकी छन्।

वरीयताको हिसाबले स्कटल्यान्ड नेपालभन्दा निकै अगाडि छ। आईसीसीको टी-२०आई वरीयतामा स्कटल्यान्ड ११औं स्थानमा छ भने नेपाल २१औं स्थानमा रहेको छ। प्रतियोगितामा नेपालको यात्रा अहिलेसम्म उतारचढावपूर्ण देखिएको छ। नेपाल पहिलो खेलमा थाइल्यान्ड र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो भने तेस्रो खेलमा जिम्बाबेलाई हराएको थियो।

सुपर सिक्समा पुग्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ। जितले मात्र पुग्दैन, नेपालले कति अन्तरले जित्छ भन्ने कुराले पनि महत्व राख्नेछ। यसका साथै थाइल्यान्ड र नेदरल्यान्ड्सबीच हुने खेलको नतिजाले पनि नेपालको अर्को चरणको यात्रा तय गर्नेछ।

स्कटल्यान्ड सन् २०२४ को टी-२० विश्वकप खेलेको अनुभव बोकेको टोली हो। नेपाल र स्कटल्यान्डबीच आधिकारिक टी-२०आई खेल पहिलोपटक हुन लागेको भए पनि प्रतियोगिताअघिको अभ्यास खेलमा नेपाल २७ रनले पराजित भएको थियो।

नेपाली टोलीमा इन्दु बर्मा, पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, सोमु विष्ट, राजमती ऐरी, रोमा थापा, कविता जोशी, सीता राना मगर, काजल श्रेष्ठ, मनिषा उपाध्याय र रचना चौधरी रहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *