ज्योतिषीय विश्लेषण: विश्व शक्ति सन्तुलनमा परिवर्तन र नेपालको भविष्य
मैले सन् २०२४ मै यो सामाजिक सञ्जालमार्फत संयुक्त राष्ट्र सङ्घ (यूएनओ) को प्रभाव घट्ने र गुगलजस्ता प्रविधि कम्पनीहरू हराउन सक्ने भविष्यवाणी गरेको थिएँ। त्यतिबेला धेरैले यसलाई ठट्टाको रूपमा लिए पनि अहिलेको ग्रहदशाले त्यसलाई पुष्टि गर्दै लगेका छन्।
ज्योतिषीय दृष्टिकोणले हेर्दा सन् २०३३ सम्म गुरु (बृहस्पति) अतिचारी अवस्थामा छन्। गुरु आकाश तत्व र ईथरका स्वामी हुन् भने शनि सूचना प्रविधिका स्वामी हुन्, जो सन् २०२७ सम्म गुरुकै नेतृत्वमा रहनेछन्। अर्कोतर्फ, फागुनमा लाग्ने खग्रास सूर्यग्रहण र पुनः जुलाईमा लाग्ने अर्को सूर्यग्रहणको ६ महिने प्रभाव निकै चुनौतीपूर्ण देखिन्छ। सन् २०२५ को सूर्यग्रहणपछि नेपालमा जेन्जी आन्दोलन र रुसको कामचटकामा भएको ज्वालामुखी विष्फोट तथा भूकम्पबारे मैले पहिले नै उल्लेख गरेको थिएँ।
अमेरिकाको संकट र शक्ति संघर्ष
अहिले अमेरिका विनाशको बाटोमा छ। यदि चीनले माइन चिप्स आपूर्ति बन्द गरिदिएमा अमेरिकामा इन्टरनेट सेवा ठप्प हुनेछ र गुगल तथा माइक्रोसफ्ट जस्ता कम्पनीहरू धराशायी हुनेछन्। अमेरिकाले ग्रिनल्याण्ड र नेपाललाई आँखा गाड्नुको मुख्य कारण खनिज स्रोत नै हो। अमेरिकी भूभागमा नभएका युरेनियम, रुबी, टुर्मालिन, कायोनाइट, क्वार्ज र मोजेनाइट जस्ता बहुमूल्य खानीहरू नेपालको गणेश हिमाल लगायतका क्षेत्रमा प्रचुर मात्रामा छन्।
एमसीसी सम्झौता युद्धका लागि मात्र आएको होइन। अमेरिकाले हिमाल नाघेर चीनसँग युद्ध गर्न सक्ने अवस्था छैन, तर यसले भारतलाई अप्ठ्यारो पार्न सक्छ। त्यसैले त भारतले अमेरिकासँगको सम्बन्धमा पुनरावलोकन गर्न थालेको छ। ट्रम्पको भाषामा ‘डिप स्टेट’ भनिने सीआईए स्वयं ट्रम्पको पनि शत्रु हो, जसले संसारभर आफ्नो सञ्जाल फैलाएको छ। नेपालका कतिपय एनजीओ, नागरिक समाज र बुद्धिजीवीहरू समेत यसकै चंगुलमा फसेका छन्।
बदलिँदो विश्व राजनीति र नेपालको उदय
अहिले अमेरिकाको अर्थतन्त्र नाजुक छ र उसमाथि ठूलो वैदेशिक ऋणको भार छ। नाटो का सदस्य राष्ट्रहरूले समेत उसलाई पत्याउन छाडेका छन्। ‘मरेको मुसालाई उपियाँले पनि छाड्छ’ भनेझैँ युरोपेली देशहरू अहिले अमेरिकालाई छाडेर ब्रिक्स संगठनतिर ढल्किँदै छन्। आगामी अप्रिलदेखि अमेरिकामा ठूलो आर्थिक संकट आउने देखिन्छ।
अबका दिनमा भारत, चीन, उत्तर कोरिया, जर्मनी र रुसले आफ्नै इन्टरनेट प्रणाली विकास गर्नेछन्, जसका कारण पूर्वी गोलार्धबाट गुगल बिस्तारै हराउँदै जानेछ। विश्व राजनीतिमा अब पहिलो नम्बरमा चीन, दोस्रोमा रुस, तेस्रोमा जर्मनी र चौथोमा भारत शक्ति राष्ट्रका रूपमा उदाउनेछन्।
पश्चिम कमजोर हुँदै जाँदा पूर्व बलियो बन्नेछ। नेपाल सन् २०२८ देखि समृद्धिको बाटोमा लाग्नेछ। विश्वको शिर मानिने नेपालबाटै विकासको नयाँ खाका कोरिनेछ र सन् २०३३ सम्ममा नेपाल आर्थिक रूपमा निकै शक्तिशाली राष्ट्र बन्ने निश्चित छ।
