स्वदेश फर्कने तयारीमा रहेका नेपाली विद्यार्थीको क्यानाडामा मृत्यु
अन्टारियो। नेपाल जाने तयारी गरिरहेका एक नेपाली विद्यार्थीको अन्टारियोस्थित सिम्कोमा बिहीबार कार दुर्घटना हुँदा दुःखद् निधन भएको छ। कारमा सवार अर्का एक नेपाली विद्यार्थीको अवस्था भने सामान्य छ।
टोरन्टोदेखि झण्डै एक सय ५० किलोमिटर दक्षिण पश्चिममा पर्ने सानो सहर सिम्कोमा बस्ने दीपक मरासिनीको कार दुर्घटनामा मृत्यु भएको हो। उनी अर्घाखाँचीबाट उच्च शिक्षा हासिल गर्न क्यानाडा आएका थिए।
तीन वर्षअघि क्यानाडा आएका उनी सिम्कोकै फ्यान्सअ कलेजमा पढाइ पूरा गरेर त्यही शहरमा काम गरिरहेका थिए। पढाइ पूरा गरेपछि हाल उनी वर्क पर्मिटमा थिए।
मरासिनीको दुःखद् निधन भएपछि त्यस क्षेत्रका नेपाली भाषी दुःखी छन्। लामो समयपछि परिवार भेट्न नेपाल जाने तयारी गरिरहँदा दुर्घटनामा परेर ज्यान गएपछि त्यसले धेरैलाई स्तब्ध बनाएको छ।
जनवरी ३१ मा नेपाल जाने पक्कापक्की गरिसकेका दीपक परिवारका एक्ला छोरा हुन्। उनी २८ वर्षका थिए।
ग्यास भर्ने प्रयोजनले बिहीबार साँझ डेराबाट कार चलाएर निस्किएका दीपकले चलाएको कार विपरीत दिशाबाट आइरहेको अर्को कारसँग ठोक्किएको थियो। अर्को कारमा सवार व्यक्ति पनि घाइते भएको बुझिएको छ।
दुर्घटनापछि नेपाली विद्यार्थीको कार प्रहरीको नियन्त्रणमा छ। मृतकको शव स्थानीय अस्पतालबाट शवदाहगृहमा लाने तयारी भइरहेको छ। यतै अन्त्येष्टि गरे पनि वा नेपाल लगे पनि शव धेरै समय अस्पतालमा राख्न मिल्दैन।
“नेपाली विद्यार्थीले ज्यान गुमाएको हिजोको दुर्घटना साँच्चिकै दुःखद् छ”, एनआरएन क्यानाडाका अध्यक्ष जगन सापकोटाले भने, “बाँकी प्रक्रियाका लागि नेपालमा रहेका परिवारसँग सम्पर्क गरेर समन्वय गर्ने काम भइरहेको छ।”
क्यानाडामा नेपाली विद्यार्थीको संख्या बढेसँगै यस्ता दुर्घटनामा ज्यान गुमाउने र घाइते हुनेहरूको संख्या पनि बढ्दो छ। एनआरएन क्यानाडाले नेपाली राजदूतावाससँग समन्वय गरेर मृतकको शव नेपाल पठाउन सहयोग गर्दै आएको छ।
‘नेपाल टच’ बाट
