४९ उम्मेदवारले नाम फिर्ता लिए, रेशम चौधरीको उम्मेदवारी खारेज

काठमाडौँ। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएकामध्ये देशभरबाट ४९ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

निर्वाचन आयोगले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले यसबारे जानकारी दिए। आयोगका अनुसार कूल ३ हजार ४८७ जनाले माघ ६ गते उम्मेदवारी दर्ता गराएका थिए। तीमध्ये ४९ जनाले शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन्।

यस्तै, उम्मेदवारहरू विरुद्ध परेका ५ वटा दाबी विरोधका उजुरीमाथि छानबिन गर्दा एक जनाको उम्मेदवारी खारेज भएको आयोगले जनाएको छ। खारेजीमा पर्नेमा कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरी छन्। उनीविरुद्ध परेको उजुरीमाथि छानबिन गर्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी अयोग्य ठहर गरेको हो।

अन्य ४ जना उम्मेदवारविरुद्ध परेका उजुरीमा भने दाबी नपुगेकाले उनीहरूको उम्मेदवारी यथावत रहेको आयोगले बताएको छ। आयोगले आजै उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गर्ने बताएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *