कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौँ। नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने भएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने केन्द्रीय कार्यसमिति बैठकले थापालाई औपचारिक रूपमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारी गरेको पार्टीले जनायो। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार बैठकले प्रधानमन्त्रीको उम्मेदवारबारे औपचारिक निर्णय गर्नेछ।

‘हामी देशभर नवीन कांग्रेसको सन्देशसहित सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्दैछौँ,’ प्रवक्ता चालिसेले भने।

विशेष महाधिवेशनको म्यान्डेट तथा सुशासन र विकासको मागसहित उठेको ‘जेन–जी’ आन्दोलनको सन्देशलाई सम्बोधन गर्न कांग्रेस स्पष्ट नेतृत्वसहित निर्वाचनमा जान लागेको उनले बताए। मतदातालाई भोट हाल्नुअघि नै प्रधानमन्त्री को हुन्छ भन्नेबारे जानकारी दिनु पार्टीको रणनीति रहेको उनले स्पष्ट पारे।

गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँमा सम्पन्न विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो। महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरू आज दिउँसो १ बजे सानेपा पुग्ने कार्यक्रम रहेको प्रवक्ता चालिसेले जानकारी दिए।

थापा नेतृत्वको कार्यसमिति आज पार्टी कार्यालय प्रवेश गरी पदबहाली गर्ने र बैठक बस्ने तयारीमा छ। ‘आजदेखि केन्द्रीय कार्यालयमै बैठक बस्छ,’ चालिसेले भने। आजै निर्वाचन समितिले नयाँ कार्यसमितिलाई प्रमाणपत्र समेत प्रदान गर्नेछ।

आगामी निर्वाचनका लागि नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिसकेका छन्।

यसअघि विशेष महाधिवेशन आह्वान गर्ने क्रममा गगन थापा र विश्वप्रकाश शर्माको पहलप्रति तत्कालीन सभापति शेरबहादुर देउवा समूहले असहमति जनाएको थियो। सोही असहमतिका बीच सम्पन्न महाधिवेशनबाट गठित नयाँ समितिले अब पार्टीलाई नयाँ ढंगले सञ्चालन गर्न लागेको देखिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *