शुक्रबारदेखि हिउँदे वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा आगामी शुक्रबारदेखि हिउँदे वर्षा हुने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले शुक्रबार रातिदेखि शनिबार बेलुकासम्म मुलुकका विभिन्न स्थानमा वर्षा र हिमपात हुने देखिएको हो।
विभागको मौसम पूर्वानुमान शाखाले शुक्रबार रातिदेखि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जानकारी दियो। वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार वर्षासँगै उच्च हिमाली भूभागमा मध्यम हिमपातको समेत सम्भावना छ।
काठमाडौँ उपत्यकामा भने हल्का वर्षा र बदलीको सम्भावना रहे पनि पूर्वी नेपालमा यसको प्रभाव खासै नपर्ने महाशाखाले जनाएको छ। यो मौसमी प्रणाली शनिबार बेलुकादेखि विस्तारै हट्दै जानेछ। मंगलबार फेरि अर्को प्रणाली आउने मौसमविद् पौडेलका अनुसार माघ १३ गते मंगलबार रातिदेखि फेरि अर्को मौसमी प्रणाली भित्रिने देखिएको छ। जसका कारण मंगलबार राति र बुधबार देशका केही स्थानमा हल्का वर्षा र हिमाली भेगमा हिमपात हुने सम्भावना छ।
यस वर्षको हिउँदमा औसतभन्दा कम वर्षा र बढी तापक्रम महसुस भइरहेका बेला हुन लागेको यो वर्षाले कृषि क्षेत्र, वायु प्रदूषण नियन्त्रण र सुक्खापन कम गर्न सहयोग पुग्ने विज्ञहरूको अपेक्षा छ। हाल देशका धेरैजसो स्थानमा मौसम सफा रहे पनि तराईमा भने हुस्सु र कुहिरो लाग्ने क्रम जारी छ।
