उम्मेदवारको नामावली प्रकाशन आज, भोलि चिह्न दिइने
काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गरेका उम्मेदवारहरूको नामावली आज बिहीबार प्रकाशन हुँदै छ। निर्वाचन आयोगको कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको सूची सार्वजनिक गर्न लागिएको हो।
यसअघि हिजो उम्मेदवारहरूको विरोधमा उजुरी दिने समय तोकिएको थियो। प्राप्त भएका उजुरीहरूमाथि आज दिनभर जाँचबुझ र आवश्यक निर्णय गरी साँझ ५ बजेदेखि ७ बजेभित्र उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी आयोगले गरेको छ।
आयोगका अनुसार यसपटक पाँच जना उम्मेदवारविरुद्ध उजुरी परेको छ। भक्तपुर, सुनसरी, रौतहट र कैलालीबाट उम्मेदवारी दिएका व्यक्तिहरूविरुद्ध उजुरी दर्ता भएको जानकारी आयोगले दिएको छ।
आगामी माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ। सोही दिन बेलुकी ४ बजेदेखि ७ बजेसम्म उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।
आयोगको पछिल्लो तथ्याङ्क अनुसार निर्वाचनका लागि देशभरबाट कुल ३ हजार ४ सय ८६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जसमा ३ हजार ८९ पुरुष, ३ सय ९६ महिला र एक जना तेस्रो लिङ्गी उम्मेदवार रहेका छन्।
