बालेनको ‘डेरा’ मा शुभचिन्तकको भीड, भेटघाटपछि इलामतिर

विराटनगर। झापा क्षेत्र नम्बर ५ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि यस क्षेत्रबाट मनोनयन दर्ता गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले बुधबार दमकस्थित आफ्नो डेरामा शुभचिन्तकहरूसँग विशेष भेटघाट गरे।

एमाले अध्यक्ष केपी शर्मा ओलीको गढ मानिने यस क्षेत्रमा बालेनको उपस्थितिले माहोल रोचक बनाएको छ। एकातिर ओली आफ्नो रणनीति बलियो बनाउन ‘कोर टिम’ सँग व्यस्त रहँदा, बालेनले भने दमक-५ स्थित लक्की सटौलाको घरमा रहेको आफ्नो चुनावी सम्पर्क कार्यालयमा बिहानैदेखि दिउँसो ४ बजेसम्म सर्वसाधारणसँग भलाकुसारी गरे।

बालेनलाई भेट्न सर्वसाधारण उनको डेरा पुगेका थिए। कोही फोटो खिच्न, कोही समर्थन जनाउन त कोही उनको कुरा सुन्न आएका थिए। भेटघाटका क्रममा बालेनले एमाले निकट युवा संघ दमकका अध्यक्ष, उपाध्यक्ष र सचिवसहितको टोलीलाई रास्वपामा स्वागतसमेत गरे।

बालेनलाई भेट्न एमाले, कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताको पनि उल्लेख्य उपस्थिति रहेको दमकका विष्णु खतिवडाले जानकारी दिए। यस्तै, झापा, मोरङ र सुनसरीका रास्वपा उम्मेदवारहरू पनि बालेनसँग सल्लाह लिन दमक पुगेका थिए। भेटमा बालेनले आफ्नो कुरा राख्नुभन्दा पनि मतदाताका कुरा बढी सुनेको अनुभव स्थानीय राजकुमार भट्टराईले सुनाए।

दमकको भेटघाट सकेर बालेन आजै अपराह्न ४ बजेतिर इलामतर्फ लागेका छन्। उनी बिहीबार ताप्लेजुङ पुगेर त्यहाँका मतदाताहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ। एमाले अध्यक्ष ओलीले भने नयाँ राजनीतिक शक्ति र उम्मेदवारहरूको उदयप्रति मतदातालाई सचेत गराउन थालेका छन्।  उनले बालेनलाई लक्षित गर्दै काठमाडौँको सुकुमबासी बस्तीको प्रसङ्ग पनि जोडे।

“सुकुमबासीका घरमा डोजर लाउने मान्छे आए रे भनेर डराउनु पर्दैन, एमाले छउन्जेल कसैले तपाईंहरूको घरमा डोजर चलाउन सक्दैन,” ओलीले आश्वस्त पारे। उनले यस क्षेत्रमा भएका विकास निर्माणका कामहरू एमालेकै पालामा भएको दाबी गर्दै नयाँहरूले एउटा ‘सिन्को’ पनि नभाँचेको आरोप लगाए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *