कोशी : २८ क्षेत्र ५०८ उम्मेदवार

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्तासँगै राजनीतिक गतिविधि केन्द्रित भएको छ। प्रदेशभर कुल ५०८ जनाले उम्मेदवारी दिएका छन्, जसले यसपटकको प्रतिस्पर्धालाई निकै फराकिलो बनाएको छ। प्रदेश निर्वाचन कार्यालय विराटनगरले हालको संख्यामा केही थपघट हुन सक्ने र अन्तिम नामावली प्रकाशनपछि मात्र उम्मेदवारको संख्या यकिन हुने बताएको छ।

प्रदेशका अधिकांश क्षेत्रमा मुख्य राजनीतिक दलसँगै स्वतन्त्र र साना दलका उम्मेदवारको संख्या उल्लेख्य छ। विशेष गरी सहरी र राजनीतिक रूपमा प्रभाव राख्ने क्षेत्रमा उम्मेदवारको चाप बढी देखिएको छ। सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा सबैभन्दा धेरै ३४ जनाले उम्मेदवारी दर्ता गराएका छन्, जसले यस क्षेत्रलाई प्रदेशकै सबैभन्दा धेरै उम्मेदवार भएको क्षेत्र बनाएको छ। सुनसरीका चारवटा क्षेत्रमा कुल १०९ जना प्रतिस्पर्धी छन्, जसमा क्षेत्र नम्बर १ मा २६, २ मा २८ र ३ मा २२ जनाको उम्मेदवारी परेको छ।

६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा कुल ११८ जनाले मनोनयन दर्ता गराएका छन्। मोरङको क्षेत्र नम्बर १ मा १८, २ मा १७, ३ मा २१, ४ मा २०, ५ मा २२ र ६ मा २० जना उम्मेदवार छन्। यस्तै, झापाका ५ निर्वाचन क्षेत्रमा ९० जनाको उम्मेदवारी परेको छ। झापा ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीबाट बालेन्द्र साह (बालेन) सहित २४ जना चुनावी मैदानमा उत्रिएपछि यस क्षेत्रको प्रतिस्पर्धालाई थप चासोका साथ हेरिएको छ। झापाका अन्य क्षेत्रहरू १ मा १५, २ मा १८, ३ मा १७ र ४ मा १६ जना उम्मेदवार छन्।

उदयपुर र इलाममा पनि उम्मेदवारको संख्या उल्लेख्य छ। उदयपुरमा ३१ र इलाममा २७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। पहाडी तथा हिमाली जिल्लाहरूमा पनि प्रतिस्पर्धाको अवस्था उस्तै छ। ताप्लेजुङमा १३, पाँचथरमा १५, संखुवासभामा १६, तेह्रथुममा १२, भोजपुरमा १२, धनकुटामा १८, सोलुखुम्बुमा १२, खोटाङमा १५ र ओखलढुंगामा १६ जनाले उम्मेदवारी दिएका छन्। निर्वाचन कार्यालयका अनुसार उम्मेदवारी दर्ता प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ र अब उम्मेदवारमाथिको दाबी विरोध तथा छानबिनको प्रक्रिया सुरु हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *