सर्वोच्चद्वारा कांग्रेस विवादमा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौँ। सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा शेरबहादुर देउवा पक्षले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अन्तरिम आदेश जारी नगरेपछि अब गगन थापा नेतृत्वको कांग्रेसलाई चुनावी प्रक्रियामा अघि बढ्न कानुनी बाटो खुलेको छ।
यसअघि गगन थापा र विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेशन गरी थापालाई सभापति चयन गरेको थियो। उक्त महाधिवेशनलाई अवैधानिक ठहर गर्दै देउवा पक्षले निर्वाचन आयोगमा उजुरी दिए पनि आयोगले थापा नेतृत्वकै समितिलाई आधिकारिकता प्रदान गरेको थियो। आयोगको सोही निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च अदालत पुगेको हो।
सर्वोच्चको यो आदेशसँगै फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि गगन थापाकै हस्ताक्षरमा वितरित टिकटहरूले वैधानिकता पाएका छन्। कांग्रेसले देशभरका १६५ वटै क्षेत्रमा आफ्ना उम्मेदवारहरूको मनोनयन दर्ता गराइसकेको छ।
