चुनावी मैदानमा २४०० भन्दा बढी उम्मेदवार
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ताका लागि तोकिएको समय सकिएको छ। निर्वाचन आयोगले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि मनोनयन दर्ताको समय निर्धारण गरेको थियो।
आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार देशभरका १६५ निर्वाचन क्षेत्रमा गरी २४०० भन्दा बढी उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका छन्। यो प्रारम्भिक तथ्याङ्क भएको र अझै पनि केही स्थानमा उम्मेदवारहरू लाइनमै रहेकाले अन्तिम सङ्ख्या अझै बढ्न सक्ने प्रवक्ता भट्टराईले जानकारी दिए।
उनले केही बेरमा आयोगले पत्रकार सम्मेलन गरी उम्मेदवारहरूको विस्तृत विवरण र क्षेत्रगत जानकारी दिने पनि बताए। आजै नेपाली कांग्रेससहितका प्रमुख राजनीतिक दलहरूले देशभरका १६५ वटै क्षेत्रमा आफ्ना उम्मेदवारहरूको मनोनयन दर्ता सम्पन्न गरेका छन्। आयोगले आज दर्ता भएका मनोनयनमाथि भोलिदेखि दाबी–विरोध र छानबिनको प्रक्रिया सुरु गर्ने कार्यतालिका छ।
