मोरङ-५ मा मनोज अग्रवालले गराए उम्मेदवारी दर्ता

विराटनगर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको मध्यावधि निर्वाचनका लागि मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेले आफ्नै उम्मेदवार उठाएको छ। एमालेका तर्फबाट मनोज अग्रवालले मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन्।

१० वर्षपछिको आफ्नै उम्मेदवार

मोरङ-५ मा एमालेले झन्डै १० वर्षपछि (दुईवटा आम निर्वाचनपछि) पहिलो पटक आफ्नै उम्मेदवार खडा गरेको हो। विगतका दुई निर्वाचनमा एमालेका मतदाताले आफ्नै चुनाव चिन्ह ‘सूर्य’ मा मतदान गर्न पाएका थिएनन्।

२०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदा यो क्षेत्र माओवादी केन्द्रको भागमा परेको थियो र एमालेले माओवादीका शिवकुमार मण्डललाई समर्थन गरेको थियो। २०७९ को निर्वाचनमा एमालेले जसपा नेपालसँग तालमेल गर्दै जसपाका उम्मेदवार जयराम यादवलाई समर्थन गरेको थियो। यद्यपि, सो निर्वाचनमा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका थिए।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग बोल्दै मनोज अग्रवालले मोरङ-५ का एमाले मतदाताहरू यसपटक आफ्नै उम्मेदवारलाई ‘सूर्य’ चिन्हमा मतदान गर्न निकै आतुर रहेको बताए। लामो समयदेखि अन्य दलका उम्मेदवारलाई सहयोग गर्दै आएका कार्यकर्ता र समर्थकहरूमा आफ्नै उम्मेदवारीले नयाँ उत्साह सञ्चार गरेको उनको भनाइ छ।

यस क्षेत्रमा यसअघिका विजेता योगेन्द्र मण्डल र माओवादी केन्द्रका तर्फबाट पुनः शिवकुमार मण्डल नै मैदानमा उत्रिने सम्भावना रहेकाले मोरङ–५ को भिडन्त निकै रोचक हुने देखिएको छ। एमालेले आफ्नो बलियो संगठन र नयाँ उम्मेदवारको भरमा यो क्षेत्र पुनः आफ्नो पोल्टामा पार्ने दाउ हेरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *