सयौँ समर्थकको साथमा बालेनले दिए उम्मेदवारी
झापा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह (बालेन) ले झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार अपराह्न निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका हुन्।
बालेनको उम्मेदवारी दर्ताका लागि दमकमा सयौँको संख्यामा समर्थकहरू भेला भएका थिए। झाँकी, नाराबाजी र उत्साहजनक र्यालीसहित उनी निर्वाचन कार्यालय पुगेका थिए। बालेनको उम्मेदवारीको प्रस्तावकमा भेषराज भट्टराई र समर्थकमा भूमिनन्दन बराल रहेका छन्। जनकपुरको कार्यक्रम सकेर मंगलबार बिहान मात्रै झापा आइपुगेका बालेनले सामाजिक सञ्जालमार्फत आफू चुनावी मैदानमा उत्रिएको जानकारी दिएका थिए।
बालेनको उम्मेदवारीसँगै झापा–५ को चुनावी प्रतिस्पर्धा निकै रोचक बनेको छ। यसै क्षेत्रबाट नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि मंगलबार दिउँसो उम्मेदवारी दर्ता गरेका छन्। रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा ‘प्रोजेक्ट’ गरेकाले पनि यो क्षेत्र राष्ट्रिय राजनीतिको केन्द्र बनेको छ।
यसैगरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पनि यो क्षेत्रमा प्रभावशाली युवा नेता रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ। अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष तामाङले आफू स्थानीय भएको र ‘जेन–जी’ आन्दोलनका मुद्दाहरू स्थापित गर्न चुनावी मैदानमा उत्रिएको बताएका छन्।
राष्ट्रिय चर्चाको केन्द्र एमालेको गढ मानिने झापा–५ मा यसपटक ओलीलाई बालेन र रञ्जित तामाङ जस्ता युवा नेताहरूले चुनौती दिएका छन्। पूर्वप्रधानमन्त्री, पूर्वमेयर र पूर्वविद्यार्थी नेताबीचको यो प्रतिस्पर्धालाई राजनीतिक विश्लेषकहरूले ‘इलेक्सन इपिसेन्टर’को रूपमा हेरेका छन्। सबै उम्मेदवारले आफ्नो जित सुनिश्चित भएको दाबी गरे पनि अन्तिम निर्णय भने फागुन २१ गतेको निर्वाचनले गर्नेछ।
