झापा-५ मा ‘हेभिवेट’ भिडन्त: उम्मेदवारी दर्ता गर्न बालेन र ओली दमकमा

दमक। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राजनीतिक सरगर्मी उत्कर्षमा पुगेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुवै उम्मेदवारी दर्ताका लागि दमक पुगेका छन्।

ओलीको दिउँसो रास्वपा नेता बालेन शाह मंगलबार बिहान ११ बजे उम्मेदवारी दर्ता गर्ने तयारीका साथ झापा पुगेका हुन्। जनकपुरमा आयोजित एक कार्यक्रम सकेर उनी सिधै झापा आएका हुन्। उनले सामाजिक सञ्जालमार्फत आफू झापा–५ पुगिसकेको जानकारी दिँदै आफ्नो चुनावी अभियान सुरु भएको संकेत दिएका छन्।

यता, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार नै आफ्नो निर्वाचन क्षेत्रमा आइपुगेका थिए। ओलीको सचिवालयका अनुसार उनले मंगलबार दिउँसो १ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय भएको छ।

रोचक बन्दै चुनावी प्रतिस्पर्धा

काठमाडौँ महानगरको मेयरबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका बालेन शाह र पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीबीचको यो प्रत्यक्ष भिडन्तले देशभरकै ध्यान झापा–५ मा खिचेको छ। एकातर्फ एमालेको ‘गढ’ जोगाउने चुनौती ओलीसँग छ भने अर्कोतर्फ युवा र परिवर्तनको नारासहित बालेनले ओलीलाई कडा टक्कर दिने देखिएको छ।

यी दुई प्रभावशाली नेताहरूको उम्मेदवारीसँगै झापामा मात्र नभई राष्ट्रिय राजनीतिमै नयाँ तरंग पैदा भएको छ। मतदाताहरू माझ अब कसको पल्ला भारी हुने हो भन्नेबारे व्यापक बहस र चर्चा सुरु भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *