राप्रपाले चुनावी तालमेल नगर्ने : झापामा ओलीसँग संग्रौला र बालेनको भिडन्त

काठमाडौँ। आगामी निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने स्पष्ट संकेत दिएको छ। विशेषगरी झापामा नेकपा एमालेसँग तालमेल हुने चर्चा भइरहँदा अध्यक्ष राजेन्द्र लिङदेनले त्यसलाई नकार्दै आफ्नो पार्टीको तालमेल केवल आम जनतासँग मात्र हुने प्रष्ट पारेका हुन्।

झापा पुगेका अध्यक्ष लिङदेनले सामाजिक सञ्जालमार्फत राप्रपाको तालमेल शान्ति, सुशासन, राजसंस्था र हिन्दु राष्ट्रको पुनर्स्थापना चाहने जनतासँग मात्रै हुने उल्लेख गरेका छन्। पार्टी प्रवक्ता मोहन श्रेष्ठले पनि यसपटक कुनै पनि दलसँग गठबन्धन नहुने सन्देश दिन अध्यक्षले यस्तो अभिव्यक्ति दिएको बताएका छन्।

यही नीतिका कारण राप्रपाले एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ मा मार्वल व्यवसायी संघका केन्द्रीय अध्यक्ष लक्ष्मीप्रसाद संग्रौलालाई उम्मेदवार बनाएको छ। सोही क्षेत्रमा काठमाडौँ महानगरको मेयरबाट राजीनामा दिएका बालेन्द्र शाह (बालेन) ले समेत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिने घोषणा गरेपछि झापा–५ को भिडन्त निकै रोचक हुने देखिएको छ।

राप्रपाले झापाका अन्य क्षेत्रमा पनि प्रभावशाली उम्मेदवारहरू खडा गरेको छ। झापा–२ मा अघिल्लो पटक स्वतन्त्र लडेका स्वागत नेपाल यसपटक राप्रपाको टिकटमा मैदानमा उत्रिएका छन्। त्यस्तै झापा–१ मा प्रा.डा. हेमराज कार्की र झापा–४ मा भक्ति सिटौलाले उम्मेदवारी दिने निश्चित भएको छ। यसरी झापाका सबै क्षेत्रमा राप्रपाले एकल रूपमा आफ्ना हेभिवेट नेताहरूलाई चुनावी प्रतिस्पर्धामा उतार्ने निर्णय लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *