आज मनोनयन: १६५ क्षेत्रमै चुनावी उत्साह
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज देशभर उत्साहपूर्वक उम्मेदवारी दर्ता हुँदैछ। निर्वाचन आयोगले १६५ वटै निर्वाचन क्षेत्रमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयनको समय तोकेको छ।
गएको भदौमा भएको ‘जेनजी आन्दोलन’ पछि संसद् विघटन भएर नयाँ निर्वाचन हुन लागेकाले यसपटकको मनोनयनलाई निकै चासोका साथ हेरिएको छ।
उम्मेदवारले मनोनयनका लागि नागरिकता वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य बुझाउनुपर्नेछ। साथै, कुनै पनि गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको निस्सा (प्रमाण) समेत पेश गर्नुपर्ने आयोगले जनाएको छ।
तडकभडक नगर्न आयोगको आग्रह
मनोनयनका क्रममा अनावश्यक भीडभाड र तडकभडक नगर्न आयोगले राजनीतिक दलहरूलाई सचेत गराएको छ। भीड व्यवस्थापन र सहजताका लागि आयोगले प्रमुख दलहरूलाई छुट्टाछुट्टै समयसमेत निर्धारण गरिदिएको छ। निर्वाचन सुरक्षाका लागि ‘निर्वाचन प्रहरी’ परिचालनको प्रक्रिया समेत अघि बढिसकेको छ।
एमाले र रास्वपा अगाडि, कांग्रेस अझै गृहकार्यमा नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिस्ट पार्टीले सबै क्षेत्रमा उम्मेदवार टुङ्ग्याएर आधिकारिक पत्र (टिकट) दिइसकेका छन्। नेपाली कांग्रेसले भने अधिकांश क्षेत्र तोके पनि केही ठाउँमा अझै गृहकार्य भइरहेको जनाएको छ। ती क्षेत्रमा पनि आज बिहानैभित्र नाम टुङ्ग्याउने तयारी छ।
कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचित हुनेछन् भने ११० जना समानुपातिक प्रणालीबाट आउनेछन्। समानुपातिकतर्फका उम्मेदवारको अन्तिम सूची आयोगले यसअघि नै सार्वजनिक गरिसकेको छ।
अन्तरिम सरकारले निर्वाचनका लागि आवश्यक सबै स्रोत-साधन उपलब्ध गराएपछि आयोग अब पूर्ण रूपमा मतदानको तयारीमा केन्द्रित भएको छ।
