पत्रकारिता छोडेर ऋषि धमला रौतहट-४ बाट चुनाव लड्ने
काठमाडौँ । लामो समयदेखि पत्रकारितामा सक्रिय ऋषि धमला राजनीतिमा होमिएका छन्। उनले पत्रकारितालाई बिट मार्दै औपचारिक रूपमा राजनीतिक यात्रा सुरु गरेका हुन्।
धमला प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) बाट चुनावी मैदानमा उत्रने भएका छन्। उनी ‘मोबाइल’ चुनाव चिह्न लिएर रौतहट निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि लड्ने तयारीमा छन्। उम्मेदवारी मनोनयनका लागि उनी सोमबार नै रौतहट प्रस्थान गरिसकेका छन्।
आफ्नो आक्रामक अन्तर्वार्ता शैलीका कारण चर्चामा रहने धमलाको यो नयाँ यात्राले राजनीतिक वृत्तमा चासो जगाएको छ।
धमलाको यो निर्णयलाई समर्थन गर्दै उनकी श्रीमती एलिजा गौतमले सामाजिक सञ्जालमा यस्तो लेखेकी छन्:
“आज मनमा गर्व पनि छ र अलि भारीपन पनि। वर्षौँसम्म क्यामेराअगाडि उभिएर सत्यका लागि लड्नुभएका मेरो जीवनसाथी ऋषि धमला आज जीवनकै एउटा ठूलो र नयाँ निर्णयतर्फ अघि बढ्दै हुनुहुन्छ। पत्रकारिता उहाँको पहिचान थियो तर जनताप्रतिको जिम्मेवारी उहाँको वास्तविक धर्म हो।
पत्रकारिता छोडेर राजनीतिमा होमिनु सहज पक्कै थिएन। यसबीचमा हामीले धेरै अनिँदा रातहरू काट्यौँ र निकै सोचविचार गर्यौँ। तर उहाँसँग भएको अनुभव, प्रखर बुद्धि र सत्यप्रतिको अडानले यो नयाँ यात्रामा पनि उहाँलाई सफल बनाउनेछ भन्नेमा म पूर्ण विश्वस्त छु।
आज आम जनता पार्टीको तर्फबाट मोबाइल चिन्ह लिई रौतहट क्षेत्र नं ४ मा उम्मेदवारी मनोनयनका लागि रौतहट जाँदै गर्दा म सधैँझैँ उहाँको साथमा छु। यो साथ मात्र हात समाएर होइन, अटुट विश्वास र संकल्पका साथ हो। यो यात्रा पदका लागि मात्र नभई जनताको सेवाका लागि हो। यस्तो पवित्र यात्रामा उहाँको सहयात्री बन्न पाउनु नै मेरो सबैभन्दा ठूलो शक्ति हो।”
