मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखरामा पक्राउ
काठमाडौँ । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँको अनुरोधमा कास्की प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो। प्रसाईंलाई थप अनुसन्धानका लागि काठमाडौँ पठाउने तयारी भइरहेको कास्की प्रहरीका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन्।
प्रसाईंमाथि निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ घुस दिएको भनी भ्रमपूर्ण अभिव्यक्ति दिएको, सरकारी वेबसाइट ह्याक गरी डाटा चोरी गर्ने योजना बनाएको र निर्वाचन बहिष्कारको अभियान चलाएको जस्ता गम्भीर आरोपहरू लागेका छन्।
उनले नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई ठूलो रकम बुझाएर निर्वाचन नतिजा आफ्नो पक्षमा पारेको आरोप सामाजिक सञ्जालमार्फत लगाएका थिए। यसका साथै पैसा लगानी गरेर सरकारी डाटा चोरी गर्न खोजेको भनिएको अडियो सार्वजनिक भएपछि निर्वाचन आयोगले उनलाई कारबाहीको दायरामा ल्याउन प्रहरीलाई पत्राचार गरेको थियो।
