यी हुन् चुनाव नलड्ने कांग्रेसका १० प्रभावशाली नेता

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका १० जना प्रभावशाली नेताहरू चुनावी प्रतिस्पर्धामा सहभागी नहुने भएका छन्। पार्टीभित्रको पुस्तान्तरण र रूपान्तरणको मुद्दालाई बल पुर्‍याउन भन्दै उनीहरूले सार्वजनिक रूपमै निर्वाचन नलड्ने घोषणा गरेका हुन्।

यसरी चुनावी मैदानबाट बाहिरिने घोषणा गर्नेमा विशेष महाधिवेशनबाट निर्वाचित उपसभापति विश्वप्रकाश शर्मा समेत छन्। यसअघि झापा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका शर्माले यसपटक आफू पार्टी संगठनको काममा लाग्ने स्पष्ट पारेका छन्। उनीसँगै पूर्वमन्त्रीहरू हृदयराम थानी, दिलेन्द्र प्रसाद बडू र डा. नारायण खड्काले पनि विज्ञप्ति जारी गर्दै यसपटक उम्मेदवार नबन्ने जानकारी दिएका छन्। पटक–पटक निर्वाचन जितेर मन्त्री भइसकेका यी नेताहरूको घोषणालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

त्यस्तै, नेता बलबहादुर केसी र काभ्रेका नेता शिव हुमागाईले पनि सार्वजनिक रूपमै चुनावी प्रतिस्पर्धाबाट अलग रहने बताएका छन्। जेन–जी आन्दोलनको समयमा मन्त्री रहेका बद्री पाण्डेले त झन् प्रतिनिधिसभाको प्रत्यक्ष, समानुपातिक वा राष्ट्रियसभा कतै पनि उम्मेदवार नहुने घोषणा गरेका छन्।

उनले आन्दोलनरत युवाहरूको मागलाई समयमै सम्बोधन गर्न नसकेको अनुभूति भएकाले यस्तो निर्णय लिएको बताएका छन्। काठमाडौँ क्षेत्र नम्बर १० बाट लगातार तीन पटक विजयी भएका राजेन्द्रकुमार केसीले पनि पार्टीमा पुस्तान्तरणको आवश्यकता औँल्याउँदै आफू निर्वाचनमा नउठ्ने बताएका छन्।

दोलखाका नेता जिपछिरिङ लामा र धादिङका कांग्रेस सभापति एवं पूर्व कृषिमन्त्री रामनाथ अधिकारीले पनि यसपटक उम्मेदवारी नदिने निर्णय गरेका छन्। अधिकारीले जेन–जी आन्दोलनकै समयमा मन्त्री पदबाट राजीनामा दिएका थिए। पछिल्लो समय बदलिएको राजनीतिक परिस्थिति र युवाहरूको बढ्दो चाहनालाई मध्यनजर गर्दै कांग्रेसका यी पुराना र स्थापित नेताहरूले नयाँ पुस्ताका लागि मार्गप्रशस्त गरिदिएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *