आदिवासी जनजाति महासंघको महाधिवेशन माघ ९ र १० गते विराटनगरमा

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन माघ ९ र १० गते कोशी प्रदेशको राजधानी विराटनगरमा हुने भएको छ। महासंघले पत्रकार सम्मेलन गरी महाधिवेशन विराटनगरमा गर्ने निर्णय भएको जानकारी दिएको हो।

प्राकृतिक स्रोत जल, जङ्गल र जमिनमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न र पहिचानको आधारमा प्रदेशहरूको पुनः नामांकन गर्नुपर्ने मागसहित महाधिवेशन हुन लागेको महासंघका अध्यक्ष एवं महाधिवेशन मूल आयोजक समितिका संयोजक गेल्जे लामा शेर्पाले जानकारी दिए।

महाधिवेशनलाई भव्य र सफल बनाउनका लागि विभिन्न १२ वटा उपसमिति गठन गरेर तयारी भइरहेको आयोजकले जनाएको छ। नेपालका सम्पूर्ण आदिवासी जनजातिलाई गोलबद्ध गर्दै पहिचानसहितको सामूहिक अधिकार स्थापित गर्ने उद्देश्यले २०४७ सालमा नेपाल आदिवासी जनजाति महासंघको स्थापना भएको थियो। नेपालमा कुल जनसंख्यामध्ये करिब ३६ प्रतिशत आदिवासी जनजातिको संख्या रहेको छ।

नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचीकृत ६० वटा आदिवासी जनजाति समुदायमध्ये महासंघमा ५६ समुदाय र विभिन्न १२ वटा सम्बद्ध संगठन आबद्ध रहेका छन्। यसैगरी विभिन्न २५ वटा देशमा महासंघका प्रवास संगठन, देशभरका सातवटा प्रदेश समन्वय परिषद्, ७७ वटा जिल्ला समन्वय परिषद्, स्थानीय पालिका र वडा समन्वय परिषद्हरुमार्फत सङ्गठित भएर काम भइरहेको अध्यक्ष शेर्पाले उल्लेख गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *