आजै उम्मेदवार टुङ्ग्याउँछौँ, सबै एकढिक्का भएर लाग्नुस्: गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका तर्फबाट चुनावी उम्मेदवारहरूको टुङ्गो आजै लगाइने बताएका छन्। सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडियो सन्देश जारी गर्दै उनले उम्मेदवार चयन प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन्।
“आज दिनभरिमा सबै कुरा टुङ्ग्याउँछौँ। सकेसम्म उत्कृष्ट र राम्रो उम्मेदवार चयन गर्ने हाम्रो ‘बेस्ट’ कोसिस रहनेछ,” सभापति थापाले भनेका छन्।
उम्मेदवार छनोटको विषयलाई लिएर पार्टीभित्र हुन सक्ने असन्तुष्टिलाई सम्बोधन गर्दै उनले आधिकारिक उम्मेदवारलाई निसङ्कोच सहयोग गर्न कार्यकर्ताहरूलाई आग्रह गरेका छन्। उनले यो निर्वाचनलाई एक अभियानको रूपमा लिन र पार्टीका साथीहरूबीच कुनै पनि मनमुटाव नराखी एकजुट हुन अपिल गरे।
थापाले अगाडि भनेका छन्, “पार्टीको आधिकारिक टिकट पाउने साथीको पक्षमा सबैजना एकढिक्का भएर लाग्नुपर्छ। यो एउटा साझा अभियान हो र यसमा सबै जुट्नुहुनेछ भन्ने मेरो विश्वास र अनुरोध छ।”
