झापामा रास्वपा : ओलीको क्षेत्रमा बालेन, देवराजसँग इन्दिरा भिड्ने
फाइल तस्बिर
विराटनगर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापाका पाँच वटै निर्वाचन क्षेत्रमा आफ्ना ‘हेभीवेट’ उम्मेदवारहरूको टुङ्गो लगाएको छ। रास्वपाको यो निर्णयसँगै झापाको राजनीतिक सरगर्मी एकाएक चुलिएको छ।
सबैभन्दा बढी चर्चा झापा क्षेत्र नम्बर ५ को छ, जहाँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौँ महानगरपालिकाका निवर्तमान प्रमुख बालेन शाहले प्रत्यक्ष प्रतिस्पर्धा गर्ने भएका छन्। ओलीको गढ मानिने यस क्षेत्रमा बालेनले उम्मेदवारी दिने निश्चित भएसँगै देशभरको ध्यान झापा ५ तिर सोझिएको छ। निर्वाचनमा होमिने निर्णयसँगै बालेनले महानगर प्रमुखको पदबाट राजीनामा दिइसकेका छन्।
सभामुख र उपसभामुखबीच भिडन्त
झापा क्षेत्र नम्बर २ मा पनि रोचक प्रतिस्पर्धा हुने भएको छ। यहाँ नेकपा एमालेबाट पूर्वसभामुख देवराज घिमिरे उम्मेदवार रहेका छन् भने उनलाई रास्वपाकी पूर्वउपसभामुख इन्दिरा राना मगरले चुनौती दिने भएकी छन्। एउटै कार्यकालमा सदनको नेतृत्व गरेका सभामुख र उपसभामुखबीचको यो प्रतिस्पर्धालाई अर्थपूर्ण रूपमा हेरिएको छ।
अन्य क्षेत्रमा को-को?
क्षेत्र नम्बर १: अघिल्लो कार्यकालमा समानुपातिकबाट कान्छी सांसद बनेकी निशा डाँगीलाई रास्वपाले यसपटक प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ।
क्षेत्र नम्बर ३: रास्वपाका जिल्ला सभापति प्रकाश पाठकले उम्मेदवारी दिने भएका छन्।
क्षेत्र नम्बर ४: रास्वपाका सचिवालय सदस्य एवं लेखक शम्भु ढकाल (सुस्केरा) उम्मेदवार बन्ने टुङ्गो लागेको छ।
रास्वपाका एक सचिवालय सदस्यका अनुसार, झापालाई ‘परिवर्तनको केन्द्र’ बनाउने रणनीति अनुरूप यी उम्मेदवारहरू तय गरिएको हो।
फागुन २१ को निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ। एमालेको ‘किल्ला’ मानिने झापामा रास्वपाका यी चर्चित अनुहारको आगमनले चुनावी नतिजा कता जान्छ भन्नेमा आम चासो बढेको छ।
