समानुपातिकको बन्दसूची सार्वजनिक (हेर्नुहोस् नामावली)
काठमाडौँ । आगामी निर्वाचनका लागि निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको छ। आइतबार सूचना जारी गर्दै आयोगले ५७ वटा निर्वाचन चिह्न प्रयोग गर्ने गरी ६३ वटा राजनीतिक दलका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको हो।
कूल उम्मेदवार: ३ हजार २१३ जना
सहभागी दल: ६३ राजनीतिक दल
निर्वाचन चिह्न: ५७ (केही दलहरू एउटै चिह्नमा निर्वाचन लड्दै)
दाबी विरोधको समय: माघ ५ गतेदेखि माघ १० गतेसम्म
आयोगका प्रवक्ता रामप्रसाद भट्टराईका अनुसार दलहरूले पेस गरेको नामावलीमा समावेश भएका उम्मेदवारहरूको योग्यता र समावेशी क्लस्टरका आधारमा बन्दसूची प्रकाशन गरिएको हो।
सार्वजनिक भएको बन्दसूचीमा रहेका उम्मेदवारहरूको योग्यताको सम्बन्धमा कुनै दाबी विरोध भएमा मतदाताले माघ १० गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन सक्नेछन्। त्यसपछि आयोगले उजुरीमाथि छानबिन गरी बन्दसूचीलाई अन्तिम रूप दिनेछ।
निर्वाचन कार्यक्रम अनुसार फागुन २१ गते हुने मतदानका लागि प्रत्यक्ष तर्फको मनोनयन दर्ता भने आगामी मंगलबार हुने तय भएको छ।
हेर्नुहोस् बन्दसूचीको नामावली
