निर्वाचन आचारसंहिता लागू
काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि माघ ५ गते सोमबारदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गर्ने निर्णय गरेको छ। आइतबार आयोगको कार्यालयमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्तसहित बसेको पदाधिकारीको बैठकले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आचारसंहिता लागू गर्ने निर्णय गरेको हो।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले कार्यतालिका अनुसार तयारी तीव्र पारेको छ। आचारसंहिता लागू भएपछि सरकार राजनीतिक दल, उम्मेदवार, कर्मचारी, सुरक्षा निकाय तथा सरोकारवालाहरूले आयोगले तोकेका नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ। आचारसंहिताले विशेष गरी नयाँ योजनाको शिलान्यास, उद्घाटन, कर्मचारी सरुवा-बढुवा र चुनावलाई प्रभाव पार्ने गरी गरिने प्रचारप्रसारमा रोक लगाउँछ।
यसैबीच, आयोगले प्रत्यक्षतर्फको निर्वाचनका लागि आगामी पर्सि माघ ६ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने मिति तय गरेको छ। यद्यपि, केही राजनीतिक दलहरूले मनोनयनको समय थप गर्न आग्रह गरिरहेका छन्, तर आयोगले हालसम्म पूर्व निर्धारित कार्यतालिका अनुसार नै अघि बढ्ने सङ्केत दिएको छ। निर्वाचनका लागि देशभर १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना भइसकेका छन्।
