सुदन गुरुङ रास्वपामा, गोरखा-१ बाट चुनाव लड्ने तयारी
काठमाडौँ । जेनजी आन्दोलनका अभियन्ता सुदन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने भएका छन्। गुरुङले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू रास्वपामा जोडिन लागेको औपचारिक जानकारी सार्वजनिक गरेका हुन्।
आफ्नो निर्णयबारे स्पष्ट पार्दै गुरुङले कुनै पद, शक्ति वा व्यक्तिगत स्वार्थका लागि नभई जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताका कारण यो कदम चालेको उल्लेख गरेका छन्।
जनताले लामो समयदेखि खोज्दै आएको जवाफदेहिता, स्पष्ट राजनीतिक दिशा र नतिजामुखी कार्यलाई अब संस्थागत रूपमा अघि बढाउने समय आएको उनको भनाइ छ।
रास्वपामार्फत जनहितलाई पहिलो प्राथमिकतामा राख्ने, युवाहरूको विश्वास सुरक्षित गर्ने र परिवर्तनलाई स्थायी बनाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। सुदनले आफ्नो यो राजनीतिक यात्रा जनतासँगै अघि बढ्ने बताएका छन्।
उनले आगामी निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने तयारी समेत गरेका छन्। पछिल्लो समय युवा पुस्ताको राजनीतिमा बढ्दो आकर्षण र प्रभावका बीच गुरुङको रास्वपा प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
