एमालेभित्र ‘अवसरवाद’ विरुद्ध विद्रोह: विद्याको प्रश्न, उषाकिरणको समर्थन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयन भइरहँदा नेकपा एमालेभित्रै ‘नैतिकता र विधि’ को प्रश्न उठ्न थालेको छ। बहालवाला स्थानीय तहका जनप्रतिनिधिहरूले कार्यकाल नसकिँदै धमाधम राजीनामा दिएर सांसद बन्ने होडबाजी गरेपछि एमाले नेतृ विद्या भट्टराईले यसलाई ‘अलोकतान्त्रिक’ कदमको संज्ञा दिएकी छन्।

नेतृ भट्टराईको यो तिखो टिप्पणीलाई पार्टीभित्रका बेथिति र निरङ्कुश शैलीविरुद्ध खरो उत्रिने नेतृका रूपमा चिनिने उषाकिरण तिम्सिनाले पनि सशक्त समर्थन गरेकी छन्। तिम्सिनाले भट्टराईको विचारलाई सामाजिक सञ्जालमा साझा गर्दै ‘ऐक्यवद्धता’ जनाएपछि एमालेभित्रको आन्तरिक बहसले नयाँ मोड लिएको छ।

“पाँच वर्षको जनमतको अपमान भएन र?” भट्टराईले सामाजिक सञ्जालमार्फत आफ्नो आक्रोश पोख्दै लेखेकी छन्- “प्रतिनिधिसभाका सदस्यहरूले त कार्यकाल पूरा गर्न पाएनन्, तर स्थानीय तह त पाँच वर्षका लागि सुरक्षित छ नि! आफ्नो कार्यकाल पूरा नहुँदै राजीनामा दिएर उम्मेदवारी दिनु लोकतान्त्रिक मूल्य र विधि विपरीत होइन र?” उनले लोकतन्त्रलाई नारामा मात्र सीमित नगरी व्यवहारमा उतार्न र त्यो नैतिकता आफैँबाट प्रस्तुत गर्न नेताहरूलाई चुनौती दिएकी छन्।

पार्टीको बेथिति विरुद्ध उषाकिरणको साथ पार्टीभित्र हुने कतिपय निर्णयमा निरङ्कुशता र बेथिति देखिने गरेको भन्दै आवाज उठाउँदै आएकी नेतृ उषाकिरण तिम्सिनाले यसपटक पनि विधि र पद्धतिकै पक्षमा उभिएकी छन्। उनले भट्टराईको धारणालाई शेयर गर्दै समर्थन जनाउनुले एमालेको उम्मेदवार छनोट प्रक्रियामा देखिएको ‘व्यक्तिवादी’ र ‘महत्वाकांक्षी’ प्रवृत्तिप्रति युवा नेताहरूको असन्तुष्टि प्रस्ट पारेको छ।

पार्टीले कतिपय स्थानमा स्थानीय तहका प्रमुखहरूलाई नै टिकट दिने तयारी गरिरहँदा यी दुई प्रभावशाली नेतृको यो साझा स्वरले नेतृत्वलाई दबाब सिर्जना गर्ने देखिएको छ। “कार्यकाल नसकिँदै पद त्याग गरेर अर्को पद ताक्ने प्रवृत्तिले जनताको विश्वासको अपमान गर्छ” भन्ने यी नेतृहरूको तर्कले अहिले एमाले वृत्तमा तरंग पैदा गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *