थाइल्याण्डसँग भिड्दै नेपाल, इतिहास रच्ने अवसर
क्यान
काठमाडौँ । नेपाली महिला क्रिकेटका लागि आज आइतबार एक ऐतिहासिक दिन हो। महिला टी-२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता आजदेखि काठमाडौँमा सुरु हुँदैछ, जहाँ नेपालले घरेलु मैदानको फाइदा उठाउँदै पहिलोपटक विश्वकपमा स्थान बनाउने लक्ष्य राखेको छ।
त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुने उद्घाटन खेलमा नेपालले आफ्नो चिरपरिचित प्रतिद्वन्द्वी थाइल्याण्डको सामना गर्दैछ।
प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालले थाइल्याण्ड, नेदरल्याण्ड्स, जिम्बाबे र स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। समूह चरणको शीर्ष ३ मा पर्न सके नेपाल सुपर सिक्समा पुग्नेछ। सुपर सिक्सपछि शीर्ष ४ मा पर्न सफल टोलीले सिधै विश्वकपको टिकट काट्नेछन्।
थाइल्याण्ड नेपाली टोलीका लागि कठिन प्रतिद्वन्द्वी मानिन्छ। आईसीसी वरियताको १२औँ स्थानमा रहेको थाइल्याण्डले सन् २०२० मा विश्वकप खेलिसकेको छ भने पाकिस्तानजस्तो बलियो टोलीलाई समेत हराएको इतिहास छ। नेपालले हालसम्म थाइल्याण्डलाई पराजित गर्न सकेको छैन, त्यसैले आजको खेल जितेर नेपाल पुरानो हारको बदला लिँदै इतिहास रच्ने योजनामा छ।
नेपालले यसअघि एसिया छनोट पार गरेर पहिलोपटक ग्लोबल छनोटमा स्थान बनाएको हो। अब विश्वकप पुग्न नेपालले आफूभन्दा माथिल्लो वरियताका र टेस्ट राष्ट्रहरूलाई समेत हराउनुपर्ने चुनौती छ।
नेपालका सबै खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन्। घरेलु दर्शकको साथ र परिचित मैदान नेपालका लागि सबैभन्दा ठूलो शक्ति हुने अपेक्षा गरिएको छ।
