झापा-५ मा भिडन्तको संकेत: ‘बा’ जोगाउन राप्रपाको सहारा लिँदै एमाले ?

विराटनगर । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा झापा क्षेत्र नम्बर ५ राष्ट्रिय राजनीतिको केन्द्रविन्दु बनेको छ। नेकपा एमालेले कोशी प्रदेशका अधिकांश क्षेत्रमा उम्मेदवार तय गरे पनि झापा-५ को राजनीतिक समीकरणले भने नयाँ मोड लिने देखिएको छ।

विशेषगरी काठमाडौँका मेयर बालेन शाहले यसै क्षेत्रबाट उम्मेदवारी दिने चर्चा र तयारीले एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘अभेद्य किल्ला’ मानिने झापा-५ मा यसपटक रोचक भिडन्त हुने संकेत मिलेको छ।

बालेन फ्याक्टर र ओलीको सुरक्षा चिन्ता

विगतका निर्वाचनमा भारी मतान्तरले विजयी हुँदै आएका ओलीका लागि यसपटक परिस्थिति बदलिएको छ। युवा पुस्तामा बालेन शाहप्रतिको बढ्दो आकर्षण र ‘नो नट अगेन’ को लहरले एमाले वृत्तमा केही सुरक्षा चिन्ता बढाएको विश्लेषण गरिन्छ। बालेनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वा स्वतन्त्र रूपमा यस क्षेत्रलाई रोज्नुले ओलीको विरासतमाथि चुनौती थपिएको छ।

राप्रपासँगको तालमेल : राजनीतिक बाध्यता कि रणनीति?

एमालेले झापा क्षेत्र नम्बर ३ मा अझै उम्मेदवार घोषणा नगर्नुलाई राप्रपासँगको चुनावी तालमेलको कडीका रूपमा हेरिएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको क्षेत्र (झापा-३) मा एमालेले उम्मेदवार नउठाउने र बदलामा झापा-५ मा राप्रपाले ओलीलाई सघाउने गरी आन्तरिक तयारी भइरहेको स्रोतको दाबी छ।

यसअघि पनि राप्रपाको बलियो साथ पाउँदा ओलीको मतान्तर फराकिलो भएको थियो। यसपटक बालेन शाहजस्ता ‘पपुलिस्ट’ उम्मेदवार मैदानमा उत्रिने भएपछि आफ्नो जीत सुनिश्चित गर्न र मतान्तर सुरक्षित राख्न ओलीले पुनः राप्रपाको ‘काँध’ खोजेको राजनीतिक विश्लेषकहरूको तर्क छ।

के ओली साँच्चै असुरक्षित छन्?

झापा-५ मा ओलीको व्यक्तिगत पकड र एमालेको मजबुत संगठन भए पनि नयाँ मतदाता र वैकल्पिक शक्तिको उदयले परिणाममा फेरबदल ल्याउन सक्ने सम्भावना छ। त्यसैले, एमालेले कुनै पनि ‘जोखिम’ मोल्न नचाहेरै राप्रपासँगको सहकार्यलाई प्राथमिकतामा राखेको देखिन्छ।

झापा-३ मा राप्रपालाई छाड्नु र ५ मा राप्रपाको मत तान्नु ओलीका लागि रणनीतिक रूपमा सुरक्षित अवतरणको बाटो हुन सक्छ। तर, मतदाताले परम्परागत तालमेललाई रुचाउँछन् वा ‘बालेन’ जस्तो नयाँ विकल्प रोज्छन्, त्यो भने फागुन २१ को परिणामले नै देखाउनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *