पश्चिमका हिमाली क्षेत्रमा हिमपातको सम्भावना, तराईमा हुस्सु
काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभावले मौसममा फेरबदल आएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज आइतबार कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
हाल कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा भने सामान्य तुवाँलो लागेको छ। महाशाखाका अनुसार आज दिउँसो र राति तराईका धेरैजसो स्थानमा हुस्सु तथा कुहिरो लाग्ने देखिएको छ।
तराईमा हुस्सु लागे पनि देशका अन्य पहाडी तथा हिमाली भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ। चिसो र हुस्सुका कारण हुनसक्ने असरबाट बच्न महाशाखाले सबैमा सतर्कता अपनाउन अनुरोध गरेको छ।
प्रतिक्रिया
