एमालेले सबै क्षेत्रमा आफ्नै उम्मेदवार उठाउने, ओलीसहित ३५ नेता सर्वसम्मत
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको अन्तिम नामावली तय गर्नेछ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार आगामी माघ ६ गते सबै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम छ। सोही समयसीमालाई मध्यनजर गर्दै एमालेले उम्मेदवारको नाम टुंग्याउन लागेको हो। हालसम्म कुनै पनि राजनीतिक दलसँग चुनावी गठबन्धन गर्ने निधो नभएकाले एमालेले सबै क्षेत्रमा आफ्नै ‘सूर्य’ चिह्नबाहक उम्मेदवार अघि बढाउने निर्णय गरेको छ।
उम्मेदवार छनोटका लागि तल्लो कमिटीहरूले यसअघि नै नाम सिफारिस गरिसकेका छन्। प्राप्त सिफारिस अनुसार अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना शीर्ष नेताको नाम सर्वसम्मत रूपमा आएको छ। बाँकी क्षेत्रहरूमा प्राप्त नाममध्येबाट योग्यता, लोकप्रियता र विजयको सम्भावनाका आधारमा सचिवालयले अन्तिम निर्णय लिनेछ।
यसअघि बसेको केन्द्रीय कमिटी बैठकले उम्मेदवारको अन्तिम छनोट गर्ने सम्पूर्ण जिम्मेवारी सचिवालयलाई दिने निर्णय गरेको थियो। सोही अधिकार प्रयोग गर्दै आजको बैठकले उम्मेदवारको सूचीलाई अन्तिम रूप दिने नेताहरूले बताएका छन्। निर्वाचनको मिति नजिकिएसँगै एमालेले उम्मेदवारहरूलाई समयमै चुनावी मैदानमा उतार्ने तयारी थालेको हो।
