एकताबद्ध भएर अघि बढौं

नेपाली कांग्रेसमा विधि, विधान र पद्धति स्थापित भएको छ; विशेष महाधिवेशन कुनै विवादको विषय थिएन। निर्वाचन आयोगले संविधान, प्रचलित कानुन र पार्टीको विधान अनुसार निर्णय गरेको छ, यसप्रति हामी आभारी छौँ।

यो नेपाली कांग्रेसका हामी सदस्यहरू र शुभेच्छुकजनले नेपाली कांग्रेसमा सार्थक परिवर्तन र देशको समुन्नतिका लागि गरेको इमानदार प्रयत्नको साझा प्रतिफल हो। यसले स्थापित गरेको छ— पार्टी नेताको चाहनाले मात्र होइन, आम सदस्यको चाहनाले चल्छ र बन्छ। अब नेपाली कांग्रेस आफ्नो मूल जरामा, आफ्नो मूल्य-मान्यता र आदर्शमा फर्केको छ।

विशेष महाधिवेशनमा सहभागी हुनुभएका–नहुनुभएका, सहमत हुनुभएका–नहुनुभएका सबै नेपाली कांग्रेसमा आबद्ध टोलदेखि केन्द्रसम्म, देश–विदेशमा रहनुभएका सम्पूर्ण अग्रज तथा साथीहरूलाई आग्रह गर्न चाहन्छु— यो विधि–विधानले प्रधानता पाएको क्षण हो, जय–पराजयको विषय होइन। कुनै अलमलमा नपरौँ, सबै संयम होऔँ, जिम्मेवार बनौँ र एकताबद्ध रहौँ। विश्वास र भरोसा राख्नुहोस्, अब कांग्रेस नवीन ऊर्जा र एकतासहित रूपान्तरणको दिशामा अगाडि बढेको छ। ‘रिफर्म’को यात्रा सुरु भइसकेको छ। अब उच्च आत्मविश्वास र व्यापक तयारीका साथ आसन्न निर्वाचनमा एकढिक्का भई लाग्नुपर्नेछ।

यस परिस्थितिमा नेपाली कांग्रेसलाई अगाडि बढाउन पार्टीका श्रद्धेय पूर्व सभापति शेरबहादुर देउवा लगायत पार्टीका विभिन्न तह र निकायमा रहनुभएका साथीहरूबाट पार्टीको यो लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा लिई पूर्ण साथ रहनेछ भन्ने विश्वास लिएका छौँ।

आजबाट कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबन्डा हुनेछैन। जिम्मेवारी फरक होला तर भुइँ तहमा रहेका सदस्य र तपाईंको केन्द्रीय सभापतिको समान हैसियत हो, हुनेछ। तपाईंहरूको चाहना नै हाम्रो निर्णयको आधार हुनेछ।

नेपाली कांग्रेस पार्टी नेता र यसका सीमित सदस्यको मात्रै होइन, आम मानिसको सार्वजनिक पुँजी हो। यस यात्रामा लोकतन्त्र र समुन्नतिका निम्ति रूपान्तरित कांग्रेस देख्न चाहने तमाम देश भित्र र बाहिर रहेका लाखौँ शुभेच्छुकजनहरू प्रति विशेष आग्रह गर्न चाहन्छौँ— नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत विगतका कमजोरीप्रति आत्मालोचना गर्दै समीक्षा गरेको छ; आजसम्मका उपलब्धिलाई समयको पदचाप अनुसार थप संस्थागत गर्ने संकल्प गरेको छ। अब कांग्रेस बदलिएको छ, बदलिनेछ।

अतः समस्त शुभेच्छुक, समर्थक र आम जनसमुदायमा अपील गर्दछौँ— नेपाली कांग्रेस आम नेपाली जनताको अपेक्षा र नवयुवाको परिवर्तनको आकांक्षा अनुरूप अगाडि बढ्नेछ। एउटा लोकतान्त्रिक र जनमुखी पार्टी कस्तो हुनुपर्छ, हामी बनाउनेछौँ। अब कांग्रेसले मूल्य र सिद्धान्त विपरीत गएर कुनै सम्झौता गर्ने छैन। सत्ताका लागि जोसँग जहिले पनि अप्राकृतिक गठबन्धन गर्ने कुरा अन्त्य हुनेछ। जसरी हिजोका दिनमा हाम्रा अग्रजहरूले लोकतन्त्र र जनअधिकारका लागि अग्रसरता लिनुभयो, त्यसरी नै अब कांग्रेसले यो संविधानको रक्षा गर्दै समुन्नतिको नेतृत्व गर्नेछ। यसका लागि तपाईंहरूको थप साथ र विश्वास चाहिएको छ।

अन्त्यमा, यो ऐतिहासिक क्षणमा सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दछौँ। पार्टीका सबै अग्रजलाई श्रद्धा र सम्मान प्रकट गर्दछौँ। समस्त नवयुवा लगायत आम नेपाली आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरूमा समुन्नत नेपाल निर्माणको यात्रामा सरिक हुन पुनः हार्दिक अपील गर्दछौँ।

जय नेपाल !

नेपाली कांग्रेस २०८२ माघ २ गते

नेपाली कांग्रेसका सभापति थापाले शुक्रबार साँझ जारी गरेको विज्ञप्ति

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *