मौनता साँध्नु मृत्यु रोज्नु जस्तै, विशेष महाधिवेशन हाम्रो विद्रोह हो: गगन

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले विशेष महाधिवेशनको आयोजना पार्टीभित्रको बेथिति विरुद्धको एउटा सचेत विद्रोह भएको बताएका छन्। मंगलबार भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्र समापन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टीको आन्तरिक लोकतन्त्रमा प्रश्न उठाउनु आफैँमा एउटा क्रान्ति भएको जिकिर गरे।

सम्बोधनका क्रममा थापाले पार्टीभित्रको यथास्थितिवादमाथि प्रहार गर्दै भने, “यो एउटा विद्रोह हो। प्रश्न गर्नु आफैँमा विद्रोह हो। मौनता साँध्नु भनेको त मृत्युलाई अँगाल्नु जस्तै हो।” उनले आफूहरूलाई पद चाहिएर विशेष महाधिवेशन आयोजना गरेको नभई पार्टीलाई जीवन्त राख्न यो कदम चालिएको प्रस्ट पारे। “हामी केही बन्नलाई आतुर भएर प्रश्न गरेको वा यो महाधिवेशन आयोजना गरेको होइन,” उनले थपे, “तर कांग्रेसभित्र गिरोहका गुटहरू बनेका छन्, जसलाई नबदली पार्टीले देशको नेतृत्व गर्न सक्दैन।”

महामन्त्री थापाले पार्टी समानता, देश र गाउँमा बस्ने आम मानिसको भरोसाको केन्द्र हुनुपर्नेमा जोड दिए। बाहिर भइरहेका विभिन्न हल्लाहरूको पछि नलाग्न आग्रह गर्दै उनले भने, “कोही टिकटकका लागि त कोही भागबण्डाका लागि यो सब भइरहेको भन्छन्। म त्यस्ता हल्लाको पछि लागेको छैन र तपाईँहरू पनि नलाग्नुस्। हामी हलले गरेको अनुमोदन मात्रै मान्छौँ, बाहिरको होइन।” उनले विशेष महाधिवेशनले विश्वप्रकाश र गगनलाई सभापति बनाउन नखोजेको बरु नीति र नेतृत्वमा आमूल परिवर्तन चाहेको बताए।

यस विशेष महाधिवेशनलाई एउटा ऐतिहासिक उपलब्धिमा टुङ्ग्याउनुपर्ने दायित्व सबै प्रतिनिधिको काँधमा रहेको थापाको भनाइ थियो। उनले देशका विभिन्न कुनाबाट आएका प्रतिनिधिहरूलाई आफ्नो अधिकार सुनिश्चित गर्न र आफू तथा अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको राजनीतिक प्रतिवेदन ताली बजाएर बहुमतका साथ पारित गरिदिन समेत अपिल गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *