कांग्रेस विशेष महाधिवेशन: आज मतदान नहुने

काठमाडौँ । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मंगलबार हुने भनिएको मतदान प्रक्रिया स्थगित भएको छ। निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता सीताराम केसीले विशेष परिस्थितिका कारण आज मतदान हुन नसक्ने जानकारी दिएका हुन्।

भृकुटीमण्डपमा जारी महाधिवेशनमा निर्वाचन समितिले संशोधित कार्यतालिका सार्वजनिक गर्दै आजका बाँकी कार्यक्रमहरू बुधबार बिहानबाट मात्र अघि बढ्ने स्पष्ट पारेको छ।

निर्वाचन समितिका अनुसार आज साँझ ५ बजेदेखि ७ बजेसम्मका लागि उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ। यसअघि पटक-पटक समय थप गरिए पनि अब भने मनोनयनका लागि समय नथपिने संयोजक केसीले बताएका छन्।

निर्वाचन समितिले उम्मेदवारी दर्ता र दाबी-विरोध लगायतका प्रारम्भिक प्रक्रियाहरू आजै सम्पन्न गर्ने लक्ष्य राखेको छ भने मतदानको मुख्य कार्यक्रम भोलि (बुधबार) बिहानबाट सुरु गर्ने गरी परिमार्जित तालिका ल्याउने तयारी गरेको छ।

पार्टीभित्रको संस्थापन र विशेष महाधिवेशन पक्षधरबीच सहमतिका लागि निर्णायक वार्ताहरू चलिरहेका कारण पनि निर्वाचनको समयतालिका प्रभावित भएको बुझिएको छ। आइतबारदेखि सुरु भएको यस महाधिवेशनमा महाधिवेशन प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति छ।

निर्वाचन समितिले पुरानै विधान अनुसार १३ पदाधिकारीसहित १ सय ३४ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाएको हो। आजको मनोनयन दर्तापछि बुधबार बिहानैदेखि मतदान प्रक्रिया सुरु गर्ने निर्वाचन समितिको योजना छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *