हिमाचलमा ग्यास सिलिन्डर विस्फोट:  ९ जना नेपालीको मृत्यु

काठमाडौँ । भारतको हिमाचल प्रदेशमा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु भएको छ। हिमाचल प्रदेशस्थित सोलान जिल्लाको अर्की बजारमा पुस २७ गते राति भएको उक्त भयानक घटनामा सल्यानको सिद्धकुमाख गाउँपालिका-२, टाकुराका दुई परिवारका सदस्यले ज्यान गुमाएका हुन्। सुतिरहेको कोठामा अचानक सिलिन्डर विस्फोट भएपछि भएको भीषण आगलागीमा परी उनीहरूको घटनास्थलमै मृत्यु भएको सिद्धकुमाख-२ का वडाध्यक्ष मेकबहादुर बुढाथोकीले जानकारी दिएका छन्।

आगलागीमा परी ज्यान गुमाउनेहरूमा एकै गाउँका दुई दाजुभाइका परिवार रहेका छन्। मृतकहरूमा ३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती ३२ वर्षीया कविता विक, छोरीहरू १६ वर्षीया राधा र १० वर्षीया रेणुका तथा २२ महिनाका छोरा राजन विक छन्। त्यसैगरी अर्को परिवारका ४६ वर्षीय काशीराम विक, उनकी ३२ वर्षीया श्रीमती टीका विक, ११ वर्षीया छोरी अनु र ७ वर्षीय छोरा किरण विकको पनि सोही घटनामा मृत्यु भएको छ। विस्फोटपछि सल्किएको आगोले वरपरका अन्य घरहरूमा समेत क्षति पुर्‍याएको छ भने आगलागी यति भीषण थियो कि मृतकमध्ये केहीको शव समेत चिनिने अवस्थामा छैन।

रोजगारीको सिलसिलामा विगत दुई वर्षदेखि भारतको हिमाचलमा बसेर ज्याला मजदुरी गर्दै आएका यी दुई परिवारको अकल्पनीय अन्त्यले सिङ्गो सल्यान जिल्ला स्तब्ध बनेको छ। एकै गाउँका ९ जनाको एकैपटक विदेशमा मृत्यु भएपछि यतिबेला सिद्धकुमाख गाउँपालिकाको टाकुरा गाउँ गहिरो शोकमा डुबेको छ। वडाध्यक्ष बुढाथोकीका अनुसार घटनाको विस्तृत विवरण बुझ्ने र शवहरू नेपाल ल्याउने विषयमा आवश्यक समन्वयको प्रयास भइरहेको छ।

-दिनेश बुढा | नेपाल खबर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *