‘पार्टी जोगाउन’ महामन्त्रीद्वयसँग वार्ता गर्ने देउवाको तयारी
काठमाडौँ । नेपाली कांग्रेसभित्र चुलिएको आन्तरिक विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा विशेष महाधिवेशन पक्षधरसँग छलफल गर्न तयार भएका छन्। सोमबार महाराजगञ्जस्थित आफ्नै निवासमा आफूनिकट नेताहरूसँगको परामर्शपछि देउवाले पार्टीलाई एकताबद्ध बनाउन असन्तुष्ट पक्षसँग वार्ता गर्ने निर्णय गरेका हुन्।
सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन आह्वान गर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग सिधै संवाद गर्ने निष्कर्ष निकालिएको छ। छलफलपछि सहमहामन्त्री महेन्द्र यादवले सभापति देउवा पार्टीलाई कुनै पनि हालतमा एकढिक्का बनाएर लैजाने पक्षमा रहेको जानकारी दिए। यादवका अनुसार नेतृत्व चयन नियमित महाधिवेशनबाटै हुने भए पनि अहिलेको गतिरोध अन्त्य गर्न सभापतिले अग्रसरता देखाएका हुन्।
यसैबीच, नेता डा. शशांक कोइरालाले वार्ता र संवादबाटै समस्याको निकास खोज्नुपर्नेमा जोड दिएका छन्। संवादहीनताको अवस्था कायम रहे पार्टी विभाजन हुन सक्ने खतरा औँल्याउँदै उनले मध्यमार्गी बाटो रोज्न सुझाव दिएका छन्। सोमबार नै नेता शेखर कोइरालाले पनि देउवालाई भेटेर पार्टीलाई फुटबाट जोगाउन गम्भीर बन्न आग्रह गरेका थिए।
