सोलुखुम्बुमा बोलेरो दुर्घटना: २ जनाको मृत्यु, ७ घाइते
सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–६ घुरुन्दु नयाँपानीमा सोमबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। वाकु चोकबाट वरोदी रोचमतर्फ जाँदै गरेको बिएडी ७७४२ नम्बरको डबल क्याप बोलेरो सडकबाट करिब एक सय मिटर तल खसेको हो।
दुर्घटनामा परी ज्यान गुमाउनेमा जिप चालक २८ वर्षीय प्रदिप राई र २८ वर्षीया यात्रु कुशुम राई रहेका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार उनीहरूको घटनास्थलमै मृत्यु भएको हो। मृतक दुवैको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको छ।
दुर्घटनामा सात जना घाइते भएका छन्। घाइतेमध्ये बलराम राई, देवेन्द्र राई र सुरेश राईको अवस्था चिन्ताजनक रहेकाले उनीहरूलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ। अन्य घाइतेहरू मनोज राई र सन्दीप राईको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ भने देविका राई र सविना राई स्वास्थ्य चौकी वाकुमा उपचारपछि घर फर्किएका छन्।
प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।
