समानुपातिकतर्फका उम्मेदवारले आज उम्मेदवारी फिर्ता लिन सक्ने
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम रहेका उम्मेदवारहरूले आज सोमबार आफ्नो नाम फिर्ता लिन सक्ने भएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारहरूले आज अपराह्न ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने व्यवस्था मिलाइएको हो।
निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार पुस १३ र १४ गते राजनीतिक दलहरूले पेस गरेको बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारहरूले आज बिहान १० देखि अपराह्न ४ बजेसम्म आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन्।
नाम फिर्ता लिन चाहने उम्मेदवारले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने प्रावधान छ। यदि कुनै कारणवश उम्मेदवार स्वयं उपस्थित हुन नसकेको खण्डमा आधिकारिक वारेसमार्फत पनि नाम फिर्ता लिन निवेदन दिन सकिने आयोगले स्पष्ट पारेको छ।
नेपालको संवैधानिक व्यवस्था अनुसार २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ जना र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना निर्वाचित हुने व्यवस्था छ। आजको समयसीमा सकिएपछि आयोगले बन्दसूचीको परिमार्जित विवरण अनुसार निर्वाचनको आगामी प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ।
