शेखर कोइराला: आफ्नै एजेन्डाको मलामी कि संस्थापनको सारथि?

काठमाडौँ । भृकुटीमण्डपको प्राङ्गण ५४ प्रतिशत महाधिवेशन प्रतिनिधि र ‘परिवर्तन’को नाराले गुञ्जिरहँदा कांग्रेसका ‘वैचारिक नेता’ शेखर कोइराला भने एउटा भिडियो सन्देशमा खुम्चिएका छन्। कांग्रेस रूपान्तरणको निर्णायक घडीमा कोइरालाले अख्तियार गरेको ‘मध्यमार्गी धार’ले उनलाई न यता, न उताको अवस्थामा पुर्‍याइदिएको छ।

जसले बीउ रोपे, उनैले साथ छोडे

यो विशेष महाधिवेशनको जग शेखर कोइराला र उनी निकट नेताहरूकै हस्ताक्षर अभियानबाट सुरु भएको थियो। तर, जब एजेन्डाले वैधानिक मूर्तता पायो र ५४ प्रतिशत प्रतिनिधिहरू नेतृत्व बदल्ने साहसका साथ मैदानमा उत्रिए, कोइरालाले ‘मध्यमार्ग’को नाममा घुँडा टेके। आफ्नै समूहका महामन्त्रीद्वय गगन-विश्वप्रकाश र भरोसायोग्य नेताहरू गुरुराज घिमिरे, केदार कार्की र चन्द्र भण्डारीहरू मैदानमा उत्रिँदा कोइराला भने संस्थापनलाई सहज हुने गरी भिडियो सन्देशमा ‘भावनात्मक एकता’को जप गरिरहेका छन्।

विद्रोही छविबाट ‘मझधार’को यात्रा

१४औँ महाधिवेशनमा देउवाविरुद्ध प्यानलसहित उत्रिँदा कोइरालालाई नयाँ पुस्ताले ‘भरोसायोग्य’ नेता मानेको थियो। कोशी प्रदेशमा आफ्नै बुतामा मुख्यमन्त्री बनाएर विद्रोहको बिगुल फुक्ने कोइराला अहिले आफ्नै अडानबाट च्युत भएका छन्। हिजो विशेष महाधिवेशन नभए पार्टी सकिन्छ भन्ने उनै कोइराला आज त्यही महाधिवेशनलाई ‘विधान विपरीत’ भन्दै जिल्ला सभापतिहरूलाई विज्ञप्ति निकाल्न लगाउने तहसम्म पुगे।

नेतृत्व क्षमताको संकट

दुवै महामन्त्रीले “विशेष महाधिवेशनबाट तपाईं नै सभापति बन्नुस्” भनेर सार्वजनिक प्रतिबद्धता जनाउँदा समेत कोइरालामा आँट देखिएन। गोपालमान श्रेष्ठजस्ता देउवाका कट्टर अनुयायीले समेत देउवाको साथ छोडेर विशेष महाधिवेशनको मञ्च रोज्दा, परिवर्तनको एजेन्डा बोकेका शेखर भने देउवाकै रक्षार्थ उभिनु राजनीतिक विडम्बना हो।

अस्थिरताको अर्को नाम

कहिले कांग्रेस-एमाले मिल्नुपर्ने, कहिले सातबुँदे सहमतिको विरोध गर्ने, कहिले विद्रोह गर्ने त कहिले संस्थापनको बहुमतलाई स्वीकार्ने- कोइरालाको यो चरित्रले कार्यकर्तामा चरम अन्योल सिर्जना गरेको छ। विशेष महाधिवेशन उनको राजनीतिक पुनरुत्थानको प्लेटफर्म बन्न सक्थ्यो, तर मध्यमार्गी बन्ने उनको मोहले अन्ततः शेरबहादुर देउवाकै सेवा गरेको छ।

विशेष महाधिवेशनको र्‍याली चल्दै गर्दा जारी गरिएको भिडियो सन्देशले के प्रष्ट पारेको छ भने- शेखर कोइराला अब कांग्रेसभित्र ‘परिवर्तनको नायक’ रहेनन्। ५४ प्रतिशत प्रतिनिधिहरूले उनको अनुपस्थितिमा पनि महाधिवेशन सफल बनाएर एउटा सन्देश दिएका छन्: “अब विचार र एजेन्डाको नेतृत्व कसैको प्रतीक्षामा रोकिने छैन।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *