गगन गर्जन : ‘कांग्रेसमा कोही कसैको दास होइन’

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसभित्र कुनै पनि सदस्य कसैको दास नभएको र सबैको हक बराबर रहेको उद्घोष गरेका छन्। आइतबार पार्टीको दोस्रो विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले पार्टीभित्र हुर्किँदै गएको व्यक्तिवादी प्रवृत्तिमाथि कडा प्रहार गरे।

पार्टी सञ्चालनको पुरानो शैली अब भत्किएको दाबी गर्दै उनले भने, ‘कांग्रेस भनेको सबैको साझा घर हो। यहाँ कोही सदस्य कसैका दास होइनन्। यो विशेष महाधिवेशनमार्फत सदस्यहरूले आफ्नो हकको दाबी गरेका हुन्। अब जोसुकै आओस्, पार्टीका सदस्यलाई कसैले हेप्न सक्दैन।’

महामन्त्री थापाले पदका आधारमा कार्यकर्तालाई सानो देख्ने मानसिकताको आलोचना गर्दै नेतृत्वलाई सचेत गराए। उनले थप, ‘यहाँ नआएका सभापति पनि कांग्रेसको सदस्य हो, भुइँमा बस्ने पनि सदस्य नै हो। दुवै बराबर हुन्। अब माथि बस्नेहरूले तल बस्ने सदस्यहरूलाई निहुरिएर सलाम गर्नुपर्छ, जय नेपाल गर्नुपर्छ।’

कांग्रेसलाई ‘जिउँदो मानिसहरूको पार्टी’ को संज्ञा दिँदै उनले पार्टीभित्र प्रश्न गर्ने अधिकार सुरक्षित रहेको स्पष्ट पारे। महाधिवेशनले नीति र नेतृत्व दुवै बदल्ने कार्यकर्ताको मागलाई सम्बोधन गर्ने विश्वास दिलाउँदै उनले कांग्रेस ‘दास र लासहरूको पार्टी’ नभएको पुनस् दोहोर्‍याए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *