‘विधि र नीतिका लागि विशेष महाधिवेशन’
आज देश आसन्न निर्वाचनको संघारमा छ। केही महिना अगाडि मात्र ‘जेनजी’ आन्दोलनबाट निर्वाचित सरकारको ठाउँमा अनिर्वाचित सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएको छ।
यस प्रक्रियामा संविधानसभाबाट जारी भएको नेपालको संविधान यतिखेर क्षत-विक्षत अवस्थामा पुगेको छ। आठ दशक अगाडि नेपाली कांग्रेसका संस्थापक नेताहरूले ‘देशको संविधान नेपाली जनता आफैँले लेख्नेछन्’ भनी नेपालको लोकतान्त्रिक आन्दोलन सुरु गर्नुभएको थियो।
त्यो गौरवशाली इतिहासको शृङ्खलाले अनेकन कष्ट, यातना र बलिदान भोग्दै, निरंकुश तन्त्रहरूसँग लड्दै लोकतन्त्र र नागरिक सार्वभौमसत्ताको शाश्वत सत्यलाई स्थापित गर्न सफल भयो।
यतिखेर हामी लगायत सबै राजनीतिक दलहरू त्यही सार्वभौम संविधान-जो नेपालको मूल कानुन हो-लाई आगामी निर्वाचनमार्फत बचाउने प्रयत्न गरिरहेका छौँ।
हामी २४ देखि २७ भदौसम्म घटेको अन्योल, अराजकता र संविधानहीनताको त्रासदीपूर्ण अवस्थालाई यति चाँडो कसरी बिर्सन सक्छौँ र ? नेपाली सेनाको सक्रियतामा राजनीतिक निकास खोज्नुपर्ने र देशको आन्तरिक सुरक्षामा सेना उतार्नुपर्ने जुन अवस्था आइपर्यो, त्यस्तो परिस्थितिको पुनरावृत्ति नचाहनु नै हाम्रा सहिदहरू प्रतिको सच्चा न्याय हुनेछ।
के हामी भावी पुस्तालाई फेरि लोकतन्त्रका लागि बलिदान, संघर्ष र यातनाको मध्ययुगीन चरणमा पुगेको नेपाल छाडेर जान अभिशप्त छौँ।
हाम्रा आदरणीय नेताहरू, बुद्धिजीवी, कानुनविद् र पत्रकार साथीहरूलाई देशको मूल कानुनको महत्त्व र संविधानहीनताको जोखिमबारे मैले धेरै भनिरहनु नपर्ला ।
‘जेनजी’ आन्दोलनबाट उत्पन्न राजनीतिक परिस्थितिमा देशका मूलधारका पार्टीहरूको नेतृत्वबारे नागरिक तह र पार्टीभित्रै पनि बहस सुरु हुनु स्वाभाविक थियो। राजनीतिक दलहरूको विफलताले नेतृत्वमाथि प्रश्न उठ्यो र यही क्रममा नेपाली कांग्रेसभित्र संगठित प्रयत्नहरू अगाडि आए।
कांग्रेसको विधानमा पार्टीको आन्तरिक जीवनलाई लोकतान्त्रिक बनाउन अनेकौँ प्रावधान राखिएका छन्। नेपालको संविधानमा झैँ यहाँ पनि शक्ति पृथकीकरणको मौलिक सिद्धान्तलाई प्रयोगमा ल्याउने कोसिस गरियो, जसको श्रेय निस्सन्देह पुरानो पुस्तालाई जान्छ।
यही कारण आज नेपाली कांग्रेसको पदाधिकारीदेखि केन्द्रीय कार्यसमितिमा युवाहरूको उत्साहजनक सहभागिता छ।
कांग्रेसको वैधानिक विकास क्रम जननायक बीपी कोइरालाको मेलमिलापवादी भावनाबाट उत्प्रेरित थियो। त्यहाँ सहमति, सहकार्य र सहअस्तित्वको सिद्धान्तलाई मूल मर्म मानिएको थियो, जहाँ कसैप्रति विद्वेष र निषेध थिएन।
मैले यिनै मर्मलाई आत्मसात् गरेर कांग्रेसभित्र ‘पुस्तान्तरण र हस्तान्तरण’ को अभियान चलाएँ। धेरै युवा साथीहरू यसमा जोडिनुभयो। म सधैँ कांग्रेस विधि, विधान र नियमसंगत प्रक्रियाबाट चलोस् भन्ने पक्षमा संघर्षरत रहेँ। मेरो लड्ने तरिका शान्त र संयमित थियो।
मेरो शैलीसँग कतिपय साथीहरू असहमत हुनुहुन्थ्यो होला, तर म कांग्रेसको रूपान्तरण अभियानमा आक्रोशित र अधैर्य भएर अगाडि बढ्न चाहिनँ।
म यहाँ प्रष्ट भन्न चाहन्छु- मेरो निजी महत्त्वाकांक्षा केही छैन। मलाई मन्त्री वा महामन्त्री हुने लोभले कहिल्यै आकर्षित गरेन। त्यस्ता अवसरहरू आए पनि मैले रुचि देखाइनँ।
मलाई सभापति वा प्रधानमन्त्रीको कुर्सीले पनि लोभ्याउँदैन । मेरो परिवारबाट पाएको संस्कार र शिक्षा नै मेरो जीवन दर्शन हो । यही दर्शनबाट अभिप्रेरित भएर म कांग्रेसको समग्र एकताको पक्षमा शान्त आवाज उठाइरहेको छु र उठाइरहनेछु ।
यस क्रममा एकातिर मैले सभापति शेरबहादुर देउवाको कार्यशैलीसँग विमति राख्नुपर्ने थियो भने अर्कोतिर ती ऊर्जावान् र जोशिला युवाहरूको असन्तोषको सामना गर्नु परिरहेको छ ।
मलाई थाहा छ, कांग्रेसको विधानमा के छ र के हुनुपर्छ । विशेष महाधिवेशनको अभियान चलिरहँदा मैले आफ्ना मतहरू केन्द्रीय कार्यसमितिमा लिखित रूपमै राखेको छु।
यो गरिरहँदा कांग्रेसमा कुनै पनि प्रकारको विभाजनको प्राविधिक वा भावनात्मक सन्देश नजाओस् भन्नेमा म अत्यन्त सतर्क थिएँ।
कांग्रेस संक्रमणमा पर्दा कसले र कसरी त्याग एवं अपमान सहनुपर्छ भन्ने मलाई बोध छ म ती सबै सहेर पनि पार्टी विधान र कांग्रेसजनको भावनात्मक एकताका लागि अन्तिमसम्म लडिरहनेछु।
बीपीको मेलमिलाप कुनै कानुनको पाना वा विधानको धाराबाट मात्र निस्किएको थिएन, त्यो उहाँको अन्तरात्मा र नेपाली जनताको आवाज थियो।
म एक्लो भए पनि बीपी, सुवर्ण, गणेशमान, किसुनजी, गिरिजाबाबु र सुशील दा लगायतका अग्रजहरूले छोडेको पदचापबाट विचलित हुने छैन । यही पदचाप नै कांग्रेसको त्यो मौलिक आदर्श हो, जसमा टेकेर नेपालीहरू स्वतन्त्र र सार्वभौम भएका छन्।
के हामी सबै कांग्रेसजन मिलेर सहमति, सहकार्य र सहअस्तित्वलाई एकाकार गर्दै एकताको बिगुल फुक्ने महाधिवेशन गर्न सक्दैनौँ? हाम्रा समर्थक, शुभचिन्तक र अन्तर्राष्ट्रिय समुदायले हामीलाई एकताबद्ध भएको हेर्न चाहेका छन्।
आदरणीय महाधिवेशन प्रतिनिधि साथीहरू, तपाईंहरू पार्टीको धरोहर हुनुहुन्छ। विधिको प्रभावकारिता र नीतिको सान्दर्भिकता स्थापित गर्ने पवित्र उद्देश्यका साथ तपाईंहरू काठमाडौँ आउनुभएको छ।
पार्टी विधानको कार्यान्वयन र समग्र कांग्रेसको हितका लागि तपाईंहरू ऐतिहासिक दायित्व निर्वाह गर्न सक्षम हुनुहुन्छ भन्ने मेरो गहिरो विश्वास छ।
म यस निकासका लागि केही दिनदेखि भगीरथ प्रयास गरिरहेको छु र निकास ननिस्कुन्जेल निरन्तर लागिरहने प्रण गर्दछु। मलाई दृढ विश्वास छ, हामी एकताबद्ध भएर अगाडि बढ्न सक्छौँ । र, यो ‘जय नेपाल’ को साझा गुञ्जनबाट मात्र सम्भव छ।
(नेपाली कांग्रेसको विशेष महाधिवेशन उद्घाटन सत्र अघि कोइरालाले जारी गरेको भिडियो सन्देश।)
