कांग्रेस विशेष महाधिवेशन: ‘पार्टी फुट्दैन, रुपान्तरण हुन्छ’

काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भोलि आइतबार र पर्सि सोमबार (२७ र २८ गते) काठमाडौँको भृकुटीमण्डपमा हुन लागेको विशेष महाधिवेशनको तयारी पूरा भएको छ। पार्टीभित्र संस्थापन पक्ष र इतर समूहको विरोधका बाबजुद महाधिवेशन पक्षधर नेता तथा प्रतिनिधिहरूले यसलाई ‘पार्टी विभाजन’ नभई ‘नीति र नेतृत्वको रुपान्तरण’ का रूपमा व्याख्या गरेका छन्।

प्रतिनिधिहरूको दाबी

६० प्रतिशतको साथ विशेष महाधिवेशन आयोजक समितिले भृकुटीमण्डपमा पत्रकार सम्मेलन गर्दै आफ्नो पक्षमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि उभिएको दाबी गरेको छ। केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार सुरुमा ५४ प्रतिशतको हस्ताक्षरबाट सुरु भएको यो अभियानमा अहिले विभिन्न जिल्लाबाट प्रतिनिधिहरू थपिने क्रम जारी छ। विशेषगरी मधेस प्रदेश, झापा, तनहुँ, र रुपन्देही लगायतका जिल्लाबाट उल्लेख्य सहभागिता रहने देखिएको छ।

पार्टी सुधार र रुपान्तरणको एजेन्डा

विशेष महाधिवेशनका लागि काठमाडौँ आएका प्रतिनिधिहरूले पार्टीभित्रको यथास्थितिवादले आगामी निर्वाचनमा कांग्रेस कमजोर हुने चिन्ता व्यक्त गरेका छन्। मधेस प्रदेशका उपसभापति चन्द्रशेखर कुमार यादवले पार्टी फुटाउन नभई, बिग्रिएको जनविश्वासलाई पुनः प्राप्त गर्न र युवा पुस्तालाई नेतृत्वमा ल्याउन यो कदम चालिएको बताए। यस्तै, प्रतिनिधि सिता मिजारले विधानको धारा १७ (२) अनुसार नै विशेष महाधिवेशन बोलाइएको भन्दै यसलाई अवैधानिक भन्नु विधानकै अपमान हुने तर्क गरिन्।

निर्वाचन अगाडिको अग्निपरीक्षा

फागुन २१ गतेका लागि तय भएको निर्वाचनअघि पार्टीको स्पष्ट नीति र ऊर्जावान् नेतृत्व आवश्यक रहेको प्रतिनिधि अमिर मादेनको भनाइ छ। उनले ३०-३५ वर्षदेखि एउटै ढर्रामा चलेको पार्टीले अबको ‘जेन-जी’ पुस्ताको भावना बुझ्न नसक्ने भन्दै नेतृत्व परिवर्तन अपरिहार्य रहेको उल्लेख गरे।

देउवालाई निम्तो र संस्थापनको अडान

आयोजकले सभापति शेरबहादुर देउवालाई प्रमुख अतिथिको रूपमा निमन्त्रणा पठाएको छ। तर, देउवा पक्षले यसअघि नै यो महाधिवेशनलाई अवैधानिक घोषणा गर्दै आफ्ना नेता-कार्यकर्तालाई सहभागी नहुन सर्कुलर जारी गरिसकेको छ। संस्थापन पक्षले भोलि नै काउन्टरमा युवा भेला बोलाएको छ, जसले गर्दा भृकुटीमण्डप वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *