६० प्रतिशत प्रतिनिधि आफ्नो पक्षमा रहेको विशेष महाधिवेशन आयोजकको दाबी

काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा भोलि आइतबारदेखि सुरु हुन लागेको ‘विशेष महाधिवेशन’ का आयोजकहरूले आफ्नो पक्षमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधिहरू उभिएको दाबी गरेका छन्। शनिबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित पत्रकार सम्मेलनमा विशेष महाधिवेशन आयोजक समितिले सुरुमा ५४.५८ प्रतिशत प्रतिनिधिको हस्ताक्षर रहे पनि अहिले त्यो सङ्ख्या बढेर ६० प्रतिशत पुगेको जनाएको हो।

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार सुरुमा २ हजार ४ सय ८८ जना प्रतिनिधिले हस्ताक्षर गरेका थिए। तर अहिले तनहुँ, झापा, धनुषा, रुपन्देही र मनाङ लगायतका जिल्लाहरूबाट थप प्रतिनिधिहरू खुल्दै आएपछि यो सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो। शिवाकोटीले पार्टीको विधान कार्यान्वयन गर्न लागिएको हुनाले यो कदमले पार्टी फुटाउने नभई थप बलियो बनाउने जिकिर गरे।

विशेष महाधिवेशनको उद्घाटन भोलि दिउँसो १ बजे भृकुटीमण्डपमा हुने तय भएको छ। आयोजकले सभापति शेरबहादुर देउवालाई प्रमुख अतिथिको रूपमा निमन्त्रणा पठाएका छन् भने महाधिवेशनको विपक्षमा रहेका नेता तथा केन्द्रीय सदस्यहरूलाई समेत सहभागी हुन निम्तो दिइएको छ। संस्थापन पक्षले यसलाई अवैधानिक भन्दै विरोध गरिरहेका बेला आयोजकले भने जनपरिचालन र जुलुस व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *