मौलिक पहिरन उत्सवमार्फत संस्कृति संरक्षणमा समता स्कुल
इटहरी । नेपाली मौलिक तथा सांस्कृतिक पोशाकको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले समता स्कुल पूर्वी कन्सोर्टियमको अगुवाइमा आयोजित ‘कल्चरल ड्रेस फिएस्टा’ यस वर्ष पनि उत्साहजनक रूपमा सम्पन्न भएको छ। नेपालको बहुसांस्कृतिक पहिचानलाई विद्यालय तहबाटै उजागर गर्ने लक्ष्यका साथ आयोजित यस कार्यक्रमले विविधता र एकताको सन्देश प्रवाह गरेको छ।
पूर्वी कन्सोर्टियम अन्तर्गत सञ्चालित समता स्कुलहरूले विद्यार्थीहरूमा आफ्नो जात, धर्म, संस्कृति र भूगोलसँग जोडिएको पहिचानको महत्व बुझाउन यो कार्यक्रमलाई वार्षिक कार्ययोजनामै समावेश गर्दै आएका छन्। यस अभियान अन्तर्गत वर्षको एक दिन विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूलाई आ–आफ्नो मौलिक सांस्कृतिक पहिरनमा विद्यालय उपस्थित हुन प्रेरित गरिन्छ।
कार्यक्रमको दिन विद्यार्थीहरू ढाका टोपी, गुन्युचोली, बख्खु, दौरा–सुरुवाल, धोती–कुर्ता लगायतका विभिन्न जातीय र क्षेत्रीय पोशाकमा सजिएर विद्यालय पुग्दा विद्यालय परिसर कुनै सांस्कृतिक सङ्ग्रहालय जस्तै देखिएको थियो।
उत्सवका बारेमा जानकारी दिँदै समता स्कुल इलामका निमित्त प्रधानाध्यापक युकेश राईले यस्ता कार्यक्रमले विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव पारेको बताए। उनले भने, “दैनिक विद्यालय पोशाकभन्दा फरक आफ्नो मौलिक पोशाक लगाएर विद्यालय आउन पाउँदा विद्यार्थीहरूमा छुट्टै उत्साह र आफ्नो संस्कृतिप्रतिको गर्व महसुस भएको देखिएको छ।”
यो कार्यक्रम एकैसाथ समता स्कुल इटहरी, इलाम र दमकमा सम्पन्न भएको हो। कन्सोर्टियम प्रमुख सन्तोष श्रेष्ठका अनुसार स्थानीय बिदाका कारण पूर्वी कन्सोर्टियम अन्तर्गतका अन्य विद्यालयहरूमा भने विद्यालय खुल्नेबित्तिकै यस कार्यक्रमलाई प्राथमिकताका साथ आयोजना गरिनेछ।
विद्यालयस्तरबाट सुरु गरिएका यस्ता गतिविधिले नयाँ पुस्तालाई आफ्नो जरासँग जोड्ने र नेपाली कला, संस्कृति एवं पहिचानको संरक्षणमा दीर्घकालीन योगदान पुर्याउने विश्वास गरिएको छ।

