अकविताः आज मायासँग भेट भो

अचानक बाटो काट्दै गर्दा,
अनायासै
भेट भो।
वर्षौँदेखि खोजेको त्यो अनुहार,
सामुन्ने देख्दा,
अचम्म भो,
आश्चर्य भो।
सुरुमा त दुबैतिर,
सन्नाटा भो।
एक अर्कालाई हेराहेर,
मात्र भो।
नयन जुध्यो, अनि एकछिन,
मौन भो।
समय पनि थक्क रोकिए जस्तै,
महसुस भो।
शरीर अलि शिथिल जस्तै,
कम्पन भो।
बोली फुट्नै गाह्रो मानौँ,
बन्धन भो।
छातीभित्र दबिएको त्यो,
स्पन्दन भो।
नजिक जाउँ कि टाढै बसौँ,
द्विविधा भो।
बोल्न खोज्दा शब्द नै हरायो,
शून्य भो।
मनभित्र आँधी चल्यो,
हलचल भो।
एकै पलमा जिन्दगीको,
आभास भो।
अनि अलि नजिक सरेपछि…
गफ भो,
साथ भो,
बात भो।
शीतल कुनै छहारीमा,
बसाई भो।
आँखाले नै मनको कुरा,
बुझाई भो।
नजिकै त्यो तातो श्वास,
आभास भो।
वर्षौँपछि खुलेर फेरेको,
सास भो।
कानैनिर त्यो बोली सुन्दा,
कम्पन भो।
सुस्तरी त्यो पुरानो आवाज,
गुञ्जन भो।
मुटुको त्यो गति बढ्यो,
धड्कन भो।
दुई आत्मा एक हुने मिठो,
तड्पन भो।
सुक्खा ती ओठहरूमा,
वर्षात भो।
दुई किनारा मिल्ने मिठो,
सुरुवात भो।
गुलाबी ती पंखुडीको,
मिलन भो।
सारा संसार भुलाइदिने,
भान भो।
मनको बाँध फुट्यो अनि,
आँसु भो।
मुहार फेरि उज्यालियो,
हासो भो।
पुराना ती यादहरूको,
बरसात भो।
मनभित्र गुम्सिएका,
निकास भो।
त्यो पुरानो जिन्दगीको मोड,
सम्झना भो।
लुकी छिपी भेटेको त्यो,
कल्पना भो।
मीठा-मीठा सपना बुन्ने,
बानी भो।
त्यही सपनामा रम्दारम्दै,
जिन्दगानी भो।
हिजोका ती गल्तीहरूको,
हिसाब भो।
नपढिएका पानाहरूको,
किताब भो।
‘किन छोड्यौ?’ भन्ने प्रश्न,
जवाफ भो।
मनमा रहेका मैलोहरू,
साफ भो।
सायद मेरो गल्ती थियो,
महसुस भो।
वा तिम्रो नै जिद्दी थियो,
अफसोस भो।
कुन मोडमा थियौँ हामी?
सवाल भो।
समयले कहाँ पुर्यायो?
बवाल भो।
घमण्डले जित्यो कि प्रेमले?
द्वन्द्व भो।
व्यर्थै रहेछ त्यो रिसराग,
मन्द भो।
जीवनका ती उकाली ओराली,
कथा भो।
एक्लै हिँड्दाका ती पीडा,
व्यथा भो।
तिम्रो संसार अर्कैतिर,
विलीन भो।
मेरो जीवन अलि बढी,
सङ्गीन भो।
अधुरा ती सपनाको,
अवशेष भो।
भाग्यको यो खेल कस्तो,
विशेष भो।
मनमा लागेका चोटहरूको,
मलम भो।
वर्षौँदेखि रोकिएको,
कलम भो।
दुःख सुख साटासाट,
आदान भो।
हृदयको त्यो पुरानो प्रेम,
प्रदान भो।
एकै छिनमा खुशी अनि,
उल्लास भो।
फेरि एकै छिनमा मन,
उदास भो।
यो कस्तो अचम्मको,
मिश्रण भो।
नियतिको यो कस्तो,
चित्रण भो।
उही पुरानो आत्मीयताको,
भास भो।
प्रेम अझै मरेको छैन भन्ने,
विश्वास भो।
समय बगेको पत्तै नपाई,
साँझ भो।
सूर्य डुब्यो, चारैतिर,
रात भो।
फेरि छुट्टिनु पर्दा मन,
निराश भो।
छातीभित्र चसक्क,
पीडा भो।
घडीको सुईले इशारा गर्यो,
बेला भो।
जिन्दगीको यो कस्तो,
मेला भो।
पाइला अघि बढाउनै,
भारी भो।
छुट्टिनु पर्ने यो कस्तो,
लाचारी भो।
‘फेरि भेटौँला’ भन्ने शब्द,
साहस भो।
तर भित्रभित्रै मनमा,
त्रास भो।
गहभरि आँसु लुकाउँदै,
बिदा भो।
त्यो अन्तिम हात हल्लााई,
सिधा भो।
बाटो लाग्यौ तिमी आफ्नो,
किनारा भो।
म पनि भीडमा एक्लै,
बिचरा भो।
तर यो छोटो भेट पनि…
इतिहास भो।
जीवनको यो यात्रामा एउटा,
मिठो गाँस भो।
तिर्खाएको काकाकुललाई,
प्यास भो।
सधैंभरी सम्झिरहने,
खास भो।
धेरैपछि आज मायासँग,
भेट भो।
जिन्दगीको पानामा नयाँ,
मेट भो।
अन्त्यमा बाँकी केवल…
त्यही ‘भेट’ भो।

(NEORAGINI का लागि)


प्रतिक्रिया

One thought on “अकविताः आज मायासँग भेट भो

Leave a Reply

Your email address will not be published. Required fields are marked *