राप्रपामा समानुपातिक विवाद : महिला नेतृहरूको आमरण अनसन

काठमाडौँ । निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आन्तरिक कलह थप उग्र बनेको छ। समानुपातिक सूचीमा क्षमतावान् महिलालाई पाखा लगाएको भन्दै पार्टीको महिला संगठनकी सचिव चम्पा अधिकारीले रिले अनसन र केन्द्रीय सदस्य नानीमैया आचार्यले आमरण अनसन सुरु गरेका छन्।

धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमै अनसन थालेका महिला नेतृहरूले समानुपातिक सूचीमा महिलाको सहभागिता सम्मानजनक हुनुपर्ने र योगदानका आधारमा नाम समावेश गरिनुपर्ने माग राखेका छन्। अनसनरत सचिव अधिकारीले भनिन्, “क्षमतावान् महिलालाई समानुपातिकको बन्दसूचीमा राखेर सम्मान गरिनुपर्छ, माग पूरा नहुँदासम्म हाम्रो आन्दोलन रोकिँदैन।”

पार्टी कार्यालयभित्रै अनसन र नाराबाजी भएपछि शुक्रबार राप्रपाको केन्द्रीय पदाधिकारी बैठक बसेको थियो। बैठकपछि प्रवक्ता मोहन श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै पार्टीले सर्वसम्मत रूपमा गरेको निर्णयविरुद्ध भ्रम फैलाउने काम भइरहेको भन्दै ध्यानाकर्षण भएको जनाएका छन्।

विज्ञप्तिमा भनिएको छ, “पार्टीको लोकप्रियता बढ्दै गएको र निर्वाचन नजिकिएको समयमा कार्यकर्ता विभाजित तुल्याउने र जथाभावी अभिव्यक्ति दिने कार्य पार्टीको हित विपरीत छ। यस्ता अवाञ्छित कार्यमा संलग्न नहुन सम्पूर्ण पार्टी पङ्क्तिलाई आग्रह गरिन्छ।” नेतृत्वले संस्थागत निर्णयको स्वामित्व लिनु सबै सदस्यको जिम्मेवारी भएको स्मरण समेत गराएको छ।

यसअघि पनि समानुपातिक सूचीमा ‘परिवारवाद’ हाबी भएको भन्दै पार्टी कार्यालयमा झडप र तनाव उत्पन्न भएको थियो। निर्वाचन आयोगमा बुझाइएको सूची सच्याउने समय घर्कदै गर्दा राप्रपाभित्रको यो विवादले चुनावी अभियानलाई प्रभावित पार्न सक्ने देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *