पटक-पटक बम राखेर त्रास फैलाउने खगेन्द्र खरेल पक्राउ
सांकेतिक तस्बिर
झापा । सार्वजनिक स्थलमा विस्फोटक पदार्थ राखेर सर्वसाधारणमा त्रास फैलाउँदै आएका कनकाई नगरपालिका-८ का ५५ वर्षीय खगेन्द्र खरेल उर्फ ‘सञ्जय’ लाई प्रहरीले पुनः पक्राउ गरेको छ। पुस १९ गते बिहान पूर्वपश्चिम राजमार्गको माई खोला पुल नजिक प्रेसर कुकर बम राखेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो।
पुस १९ गते सडकको उत्तरी भागमा शङ्कास्पद प्रेसर कुकर फेला परेपछि केही समय सवारी आवागमनसमेत ठप्प बनेको थियो। उक्त बमलाई नेपाली सेनाको अरिदमन गणको टोलीले सुरक्षित रूपमा निष्क्रिय पारेको थियो। घटनास्थलबाट विस्फोटक सामग्रीसँगै ‘सनातन सुरक्षा सेना नेपाल’ लेखिएको पर्चासमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
खरेलको आपराधिक इतिहास निकै लामो देखिएको छ। २०८१ साल पुसमा इटहरी उपमहानगरपालिका अगाडि प्रेसर कुकर बम राखेको घटना र २०७८ चैतमा इटहरीकै नवजागृति टोलमा भएको बम विस्फोटमा समेत उनको संलग्नता रहेको प्रहरी अनुसन्धानले देखाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्र खड्काका अनुसार खरेल यसअघि दुई वर्ष पाँच महिना कैद भुक्तान गरी छुटेका थिए।
अनुसन्धानका क्रममा उनी ‘जेनजी आन्दोलन’ का बेला सुनसरीको झुम्का कारागारमा कैद भुक्तान गरिरहेको अवस्थामा फरार रहेको तथ्यसमेत खुलेको छ। पछिल्ला वर्षहरूमा झापाको बिर्तामोड र दमक क्षेत्रमा भएका शृङ्खलाबद्ध बम आतंकमा पनि उनको संलग्नता रहेको प्रहरीको दाबी छ। पक्राउ परेका खरेलमाथि आजै जिल्ला अदालत झापाबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइने डीएसपी खड्काले बताए।
