निर्वाचनमा मिथ्या सूचना फैलाउनेलाई कडा कारबाही, सामाजिक सञ्जालमा निगरानी

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी सामाजिक सञ्जालमा हुने नकारात्मक र गैरकानुनी गतिविधिमाथि कडा निगरानी गर्ने भएको छ। आयोगले शुक्रबार पत्रकार सम्मेलन गर्दै सामाजिक सञ्जालमार्फत प्रवाह हुनसक्ने मिथ्या सूचना, दुष्प्रचार र घृणास्पद अभिव्यक्ति नियन्त्रणका लागि विशेष संयन्त्र परिचालन गरिएको जानकारी दिएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सामाजिक सञ्जालमा देखिने ‘डिप फेक’, झुटो एकाउन्ट, निन्दा वा मानहानि जस्ता क्रियाकलापको अनुगमन गरी दोषीलाई कानुनबमोजिम दण्डित गरिने बताए। यसका लागि आयोगले मेटा (फेसबुक), टिकटक र एक्स (ट्वीटर) का प्रतिनिधिसँग संवाद अघि बढाएको र उनीहरूलाई औपचारिक पत्राचार समेत गरिसकेको छ। आयोगमा ‘सूचना सदाचार प्रवर्द्धन एकाई’ ले कार्य प्रारम्भ गरिसकेको र सामाजिक सञ्जाल अनुगमनका लागि विशेष सफ्टवेयर प्रयोगमा ल्याइएको उनले जानकारी दिए।

निर्वाचनको तयारीका सन्दर्भमा आयोगले यो हप्ता प्रदेश सरकार र स्थानीय तहसँग समन्वय बैठक सम्पन्न गरेको छ। यसैगरी, ७७ जना मुख्य निर्वाचन अधिकृत र ८८ जना निर्वाचन अधिकृतको नियुक्ति प्रक्रिया पनि पूरा भएको छ। नवनियुक्त अधिकृतहरूका लागि पुस २८ र २९ गते काठमाडौँ, चितवन, विराटनगर र नेपालगञ्जमा अभिमुखीकरण तालिम सञ्चालन गरिने र माघ २ गतेदेखि उनीहरूले आ-आफ्नो निर्वाचन क्षेत्रमा कार्यालय स्थापना गरी काम सुरु गर्ने कार्यक्रम छ।

प्राविधिक तयारीका क्रममा आयोगले १० लाख थान नमुना मतपत्रको छपाइ सम्पन्न गरेको छ। हाल मतदाता नामावली र समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको कार्य सुरु भइसकेको प्रवक्ता भट्टराईले जानकारी दिए। समानुपातिकतर्फ प्राप्त बन्द सूची रुजु गरी आयोगले सम्बन्धित दलहरूलाई आवश्यक सच्याउनका लागि पत्राचार समेत गरिसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *