बसको ठक्करबाट शिक्षक कोइरालाको मृत्यु
विराटनगर । पूर्व-पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका-८ सलकपुरमा बिहीबार साँझ भएको सवारी दुर्घटनामा एक शिक्षकको मृत्यु भएको छ। बसले मोटरसाइकललाई ठक्कर दिँदा बेलबारीको कसेनी माध्यमिक विद्यालयमा कार्यरत ५० वर्षीय शिक्षक कमल कोइरालाको ज्यान गएको हो।
घटनाको विवरण: बिहीबार साँझ करिब ६:४५ बजे बागमती प्रदेश ०३-०११ ख १६०२ नम्बरको बसले को ३१ प ५३९० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा परेर मोटरसाइकल चालक कोइराला गम्भीर घाइते भएका थिए। मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार उनलाई तत्काल उद्धार गरी विराटनगरस्थित कोशी अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याउनासाथ चिकित्सकले साँझ ७:३५ बजे उनलाई मृत घोषित गरेका थिए।
कोइराला बेलबारी नगरपालिका-४ का स्थायी बासिन्दा हुन्। उनी हाल सुनसरीको इटहरी उपमहानगरपालिका-८ मा बस्दै आएका थिए। उनी लामो समयदेखि शिक्षण पेशामा आबद्ध थिए।
प्रहरीले बस र झापा मेचीनगर नगरपालिका-१० का ४८ वर्षीय चालक सन्तोष चौधरीलाई नियन्त्रणमा लिएको छ। बसको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
