‘नियमित अधिवेशनको अल्झो थापेर नेतृत्व फेर्ने माग पन्छाउन मिल्दैन’
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी प्रतिनिधिसभा निर्वाचन अगावै पार्टीको नेतृत्व परिवर्तन गर्न विशेष महाधिवेशन अनिवार्य रहेको बताएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकमा आफ्नो धारणा राख्दै उनले नियमित महाधिवेशनको कार्यसूची घोषणा भएकै आधारमा विशेष महाधिवेशनको औचित्य समाप्त नहुने स्पष्ट पारे।
संस्थापन पक्षले नियमित महाधिवेशनको क्यालेन्डर आइसकेकाले विशेष महाधिवेशन आवश्यक नरहेको भन्दै आएको तर्कमा विमति जनाउँदै थापाले भने– ‘नियमित महाधिवेशनको क्यालेन्डर घोषणा भएपछि विशेष महाधिवेशनको अर्थ रहँदैन भन्नु मागको आधारभूत कुरालाई नै बिर्सिनु हो। चुनावभन्दा पहिले नै नेतृत्व फेर्ने मागलाई नियमित अधिवेशनको अल्झो हालेर पन्छाउन मिल्दैन।’
महामन्त्री थापाले पार्टी विधानको व्यवस्था र वर्तमान राजनीतिक परिस्थितिलाई विश्लेषण गर्दै विशेष महाधिवेशन माग गर्नु महाधिवेशन प्रतिनिधिहरूको विशिष्ट अधिकार भएको उल्लेख गरे। विधानले ४० प्रतिशतको कठिन सङ्ख्या तोक्नुको अर्थ नै यो व्यवस्था असाधारण परिस्थितिका लागि भएको उनको तर्क छ। २ हजार ४८८ प्रतिनिधि संगठित भएर आउनु सामान्य कुरा नभएकाले नेतृत्वले यसलाई गम्भीरतापूर्वक लिनुपर्नेमा उनले जोड दिए।
पार्टीलाई दुई भागमा बाँड्ने स्थिति सिर्जना हुन नदिन नेतृत्व सचेत हुनुपर्ने भन्दै थापाले प्रक्रियामा छिर्न नचाहेर मागलाई ‘अवैधानिक’ भन्नु आत्मघाती हुन सक्ने चेतावनी दिए। उनले कार्यवाहक सभापतिमार्फत सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै नेतृत्वमा लचकता देखाउन र विशेष महाधिवेशनको मागलाई सम्मान गर्दै समझदारीको बाटो खोज्न अपिल समेत गरे।
