युके पठाइदिन्छु भन्दै २८ लाख ठगी गर्ने पक्राउ
सांकेतिक तस्बिर
काठमाडौँ । वैदेशिक रोजगारीका लागि युनाइटेड किंगडम (युके) पठाइदिने र आकर्षक तलब दिलाउने लोभ देखाएर लाखौँ रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले ललितपुर महानगरपालिका-१६ का ३४ वर्षीय अमन महर्जनलाई पक्राउ गरेको हो। महर्जनले बेरोजगार युवायुवतीलाई युकेमा आकर्षक रोजगारी मिलाइदिने भन्दै लामो समयसम्म झुक्यानमा राखेर ठगी गरेको प्रहरीको दाबी छ।
प्रहरी अनुसन्धानका अनुसार उनले तीन जना पीडितबाट कुल २८ लाख रुपैयाँ असुलेर सम्पर्कविहीन भएका थिए। आफूहरू ठगिएको महसुस गरेपछि पीडितहरूले दिएको उजुरीका आधारमा प्रहरीले खोजी कार्य तीव्र पारेको थियो।
अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टका अनुसार महर्जनलाई पुस २२ गते भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. २ बाट नियन्त्रणमा लिइएको हो। पक्राउ परेका उनलाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।
